गृहपृष्ठ सार्वजनिक बसमा बढी भाडा लिने ९ जना पक्राउ
सार्वजनिक बसमा बढी भाडा लिने ९ जना पक्राउ
फाइल तस्बिर
महानगरीय ट्राफिक प्रहरी महाशाखाले सार्वजनिक बसमा बढी भाडा लिने ९ जनालाई पक्राउ गरेको छ । ट्राफिक प्रहरी आफैँ यात्रु बनेर चलाएको कारबाही अभियानमा ९ जना पक्राउ परेका हुन् ।
पक्राउ पर्नेमा लालकाजी घिसिङ, दिपक तामाङ, श्याम थापामगर, नरेश लामिछाने,दिलबहादुर भण्डारी, भुवन लामा, राजेन्द्र थापा, संगम दुत्त मग्रान्ती र सुब्बा बोहरा छन् । महानगरीय ट्राफिक प्रहरी महाशाखाका प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक भीमप्रसाद ढकालले सादा पोशाकमै प्रहरी खटाएर बढी भाडा लिनेविरुद्ध कारबाही चलाएको जानकारी दिए । उनले यात्रु ठगीका घटना रोक्न विशेष अभियान चलाएको तर प्रहरीको आँखा छलेर ठगीमा परिएको स्वयं यात्रुले गुनासो गरे ट्राफिक प्रहरी खटाई तुरून्तै कारबाही गर्ने बताए ।
प्रहरीले आफैँ यात्रु बनेर निगरानी गर्ने, हिँड्न लागेको गाडीका यात्रुसँग जानकारी लिएर कारवाही गर्ने र यात्रु बस्ने लाइनमा बसेर फलानो ठाउँ जाने भनी टिकट मागेर अडियो भिडियो रेकर्ड गरी उनीहरुलाई कारबाहीको दायरामा ल्याउने गरेको जनाएको छ ।
महाशाखाका प्रवक्ता प्रहरी उपरीक्षक जीवनकुमार श्रेष्ठले गाडी चढ्नुअघि कतिपय यात्रुलाई कन्भिन्स गरेर पैसा ठग्ने गरेको र कतिपयलाई बढी भाडा नतिरे नलैजाने गरेको पाइएको बताए । पक्राउ पर्ने व्यक्तिहरूलाई आवश्यक कारबाहीका लागि महानगरीय प्रहरी वृत्तहरूमा बुझाइएको छ ।
प्रकाशित समय १८:५४ बजे

















