गृहपृष्ठ प्रहरीको कपडा खरिदबारे गुणस्तर परीक्षण समिति गठन
प्रहरीको कपडा खरिदबारे गुणस्तर परीक्षण समिति गठन
प्रहरी प्रधान कार्यालयले प्रहरी कर्मचारीका लागि खरिद गरिएका लत्ताकपडालगायत सामग्रीको गुणस्तर परीक्षण गर्न समिति गठन गरेको छ।
करिब ७३ करोड मूल्य बराबरको सामग्री खरिदमा गुनासो आएपछि प्रधान कार्यालयले ती सामानको गुणस्तर परीक्षण गर्न समिति गठन गरेको हो।
कार्यालयका अनुसार मानस्रोत विभागका एसएसपी वसन्त पन्तको नेतृत्वमा दुई साताअघि समिति गठन गरिएको हो। समितिमा कानुन शाखाका प्रहरी उपरीक्षक गोपालचन्द्र भट्टराई, प्रहरी नायब उपरीक्षकहरू कवित कटवाल, गौतम केसी, मदन केसी र योगेन्द्रसिंह थापा रहेका छन्।
समितिलाई आवश्यकताअनुसार ती सामग्रीको आयातबारे बुझ्न भन्सार विभाग तथा गुणस्तर जाँच्न गुणस्तर विभागका विज्ञलाई साथ लिन सक्ने कार्यादेश रहेको प्रहरी प्रधान कार्यालयले बतायो।
प्रहरी प्रवक्ता प्रहरी नायब महानिरीक्षक शैलेश थापा क्षत्रीका अनुसार खरिद भएका सामग्रीको गुणस्तर छानबिनका लागि समिति गठन गरिएको हो। ‘दाखिला भएको सामानको गुणस्तर के छ परीक्षणका लागि समिति गठन गरिएको हो,’ थापाले भने।
आर्थिक तथा खरिद ऐनको कार्यादेशअनुसार नै भण्डारण भएका सामानको परीक्षण गर्नुपर्ने भएकाले यो नियमित प्रक्रिया रहेको थापाले बताए।
एक अधिकृतका अनुसार समितिले खरिद प्रक्रियामा संलग्न अधिकारी तथा विज्ञहरूसँग आवश्यक छलफल थालेको छ। ‘हामीले खरिद प्रक्रिया र गुणस्तरबारे सम्बद्ध क्षेत्रका व्यक्तिहरूसँग छलफल थालेका छौं,’ समितिका एक सदस्यले भने ।
समितिलाई यसअघि र हाल खरिदसम्बन्धी थालिएका प्रक्रियाबारे अनुसन्धान गर्न जिम्मेवारी दिइएको छ।
नेपाल प्रहरीका कर्मचारीका लागि ज्याकेट, उलन पाइन्ट–स्वेटर, कटनका सर्ट–पाइन्ट, टिसर्ट, जुत्ता, मोजालगायत सामग्री खरिद भएकोमा आठ करोड रूपैयाँ बराबर अनियमितता भएको गुनासो छ।
निवर्तमान प्रहरी महानिरीक्षक सर्वेन्द्र खनाल पदमा रहँदा ती सामग्री खरिदको प्रक्रिया थालिएको थियो। अहिले ती सामग्री बुझाइने क्रममा रहँदा प्रधान कार्यालयले गुणस्तर परीक्षण गर्न थालेको हो।
स्वीकृत मापदण्डविपरीत सामान खरिद गरिएको गुनासो आउन थालेपछि प्रहरी महानिरीक्षक ठाकुर ज्ञवालीले छानबिन गर्न समिति गठन गर्न निर्देशन दिएका हुन् ।
खनाल प्रहरी महानिरीक्षक हुँदा एक लाख ३० हजार मिटर कटन सर्ट, एक लाख ६० हजार मिटर कटन पाइन्ट, ५० हजार मिटर उलन सर्ट, २७ हजार मिटर उलन पाइन्ट, एक लाख ६९ हजार मिटर चुस्ता, २४ हजार जोर डिएमएस बुट, २५ हजार उलन स्वीटर, १६ हजार पार्का ज्याकेटको टेण्डर स्वीकृत भई खरिद भइसकेको छ।
गोदाममा राखिएका ती सामग्री अहिले ठेकेदारमार्फत बुझ्ने क्रममा छन्।
प्रहरीका लागि खरिद भएका सामग्री स्वीकृत मापदण्डअनुसार छ-छैन सो को परीक्षण हालसम्म नेपालमा गरिएको छैन। नेपालको गुणस्तर विभागलाई विश्वास गर्न नसकेपछि प्रहरीले भारत र स्वीट्जरल्याण्डका ल्याबमा सामग्रीको नमूना पठाउने गरिएको छ।
प्रहरीको लत्ताकपडा तथा बन्दोबस्तीका सामानमा व्यापक भ्रष्टाचार हुने गरेको यसअघि सार्वजनिक भइसकेका छन्।
प्रकाशित समय १९:०६ बजे

















