गृहपृष्ठ ‘व्यापार नभएको भन्दा पनि देशमा विपत्ति आउला कि भन्नेमा चिन्ता लागेको छ’
‘व्यापार नभएको भन्दा पनि देशमा विपत्ति आउला कि भन्नेमा चिन्ता लागेको छ’
'सरकारले हाम्रै लागि भनेको हो, अटेर गर्नुहुन्न'
विश्वलाई नै त्रसित बनाएर फैलिरहेको कोरोनाका कारण नेपाल पनि प्रभावित बनेको छ । सरकारले अत्यावश्यक बाहेकका सेवाहरु बन्द गरेपछि देश नै ‘सेमि-लकडाउन’ भएको छ ।
शैक्षिक संस्था, होटल रेष्टुराँ तथा मनोरञ्जनस्थलहरु यसअघि नै बन्द भइसकेका छन् । आइतबारबाट बजार पसल समेत बन्द गरिएका छन् । अधिकांश पसलमा ताला लगाइएको छ ।
आइतबार दिउँसो पुग्दा काठमाडौंको प्रमुख व्यापारिक केन्द्र न्युरोडका आधाजसो पसलहरु बन्द गरिएका थिए । एक फेन्सी पसलकी सञ्चालिकाले ग्राहक नै नआएपछि बन्द गर्नु परेको बताइन् । ‘भाइरसको डरले पनि पसल बन्द गर्न लागेकी हुँ । सरकारले भनेको कुराहरु सुनेपछि सतर्क हुनैपर्ने ठानेर घरमै बस्ने बिचारमा छु,’ उनले न्युज कारोबारसँग भनिन् । व्यापार ठप्प भएको भन्दा पनि कोरोना महामारीले देशमै विपत्ति आइलाग्ला कि भन्नेमा आफूलाई बढी चिन्ता लागेको उनले बताइन् ।
असनमा पुग्दा पनि अवस्था त्यही देखियो । ‘सरकारले जनताकै सुरक्षाका लागि भनेको हो । हामीले अटेर गर्नुहुन्न । म पनि अब पसल थुन्न लाग्दैछु,’ इलेक्ट्रोनिक सामानका एक व्यापारीले भने ।

विशालबजारका प्राय पसलहरुका पनि ताला झुण्डिएको थियो । खुलेका पसलहरु पनि सुनसान थिए । ‘केही व्यापार भइहाल्ला कि’ भन्ने सोचले पसल खोलेका व्यापारीहरु ग्राहक नआउँदा चिन्तित देखिन्थे ।
पसल बन्द भएपछि भरियाहरु पनि फुर्सदिला बनेका थिए । बसन्तपुर पुग्दा हातमा नाम्लो लिएका भरियाहरु आफ्नै सुरमा हिँडिरहेका देखिन्थे । अरुबेला भारी पाउने आशामा चारैतिर नजर डुलाउँदै हिँड्ने उनीहरु निराशझैँ लाग्थे ।
सहरी क्षेत्र मात्र हैन, यत्तिखेर सिंगो देश नै कोरोनाको त्रासमा छ । नेपालमा कोरोना संक्रमण नदेखिए पनि मानिसहरु भने त्रसित छन् । अत्यावश्यक काममा बाहेक घरबाहिर ननिस्कन सरकार तथा स्थानीय प्रशासनले आग्रह गरेको छ । संक्रमणबाट जोगिन अपनाउनुपर्ने सन्देशमुलक जानकारीहरु विभिन्न माध्यमबाट जारी भइरहेको छ ।
प्रकाशित समय २०:२३ बजे

















