गृहपृष्ठ भारत र चीनतर्फको नाका एक हप्ताका लागि बन्द गर्ने सरकारको निर्णय

भारत र चीनतर्फको नाका एक हप्ताका लागि बन्द गर्ने सरकारको निर्णय

सरकारले सोमबार बिहान १० बजेदेखि एक साताका लागि भारत र चीनतर्फका सीमा नाका बन्द गर्ने निर्णय गरेको छ । आइतबार साँझ प्रधानमन्त्री निवास वालुवाटारमा बसेको मन्त्रिपरिषदको बैठकले कोरोना भाइरस (कोभिड-१९) को संक्रमणबाट बच्नका लागि सीमा नाका पूर्ण रूपमा बन्द गर्ने निर्णय गरेको हो ।

उक्त अवधिभर ती नाकाबाट दुवैतर्फको आवागमन पूर्ण रूपले बन्द गरिने भएको छ । सीमा नाकामा भएको आवातजावतले नेपालमा कोरोना भाइरस भित्रन सक्ने जोखिमलाई मध्यनजर गर्दै सरकारले सीमा नाका बन्द गर्ने निर्णय गरेको हो ।

भारतमा कोरोनाको संक्रमण देखिएपछि नेपालले सीमा नाका बन्द गर्ने प्रस्ताव राखेको थियो । तर भारतले ठोस जवाफ नदिँदा निर्णय हुन सकेको थिएन । यसअघि कोरोना रोकथामसम्बन्धी उच्चस्तरीय समितिको बैठकमा मन्त्रीहरुले नै भारत सहमत नभए पनि एकतर्फी रुपमा सीमा नाका बन्द गर्नुपर्नेमा जोड दिएका थिए ।

५० करोडको अक्षय कोष

कोरोना भाइरसको संक्रमण नियन्त्रण तथा रोकथामका लागि सरकारले ५० करोडको अक्षय कोष निर्माण गर्ने भएको छ। उक्त कोषमा सबै मन्त्रीले आफ्नो एक महिनाको पारिश्रमिक उपलब्ध गराउने र बाँकी निजी क्षेत्र तथा अन्य संघसंस्थाबाट पनि संकलन गर्ने निर्णय गरेको बैठकमा सहभागी एक मन्त्रीले बताएका छन् ।

सरकारले आइतबारदेखि नै अत्यावश्यक बाहेकका सबै सेवा बन्द गर्न निर्देशन दिइसकेको छ । आइतबार रातिदेखि सबै अन्तर्राष्ट्रिय उडानसमेत बन्द गरिँदै छ।

प्रकाशित समय २०:५० बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु