गृहपृष्ठ ढुवानी सेवा सञ्चालन गर्न महासंघको आग्रह
ढुवानी सेवा सञ्चालन गर्न महासंघको आग्रह
नेपाल ट्रक यातायात व्यवसायी महासंघले ढुवानी सेवालाई निर्वाधरुपमा सञ्चालन गर्न सम्पूर्ण व्यवसायीलाई आग्रह गरेको छ ।
महासंघले आइतबार एक विज्ञप्ति जारी गरी ढुवानी सेवा अत्यावश्यक सेवाअन्तर्गत पर्ने भएकाले यसलाई निर्वाधरुपमा सञ्चालन गर्न व्यवसायीलाई आग्रह गरेको हो । गत शुक्रबार सरकारले आइतबारदेखि अत्यावश्यकबाहेक अरु सेवा सञ्चालनमा रोक लगाउने घोषणा गरेको थियो ।
महासंघका महासचिव राजेन्द्रविक्रम बानियाँले कोभिड–१९ (कोरोना भाइरस) को सम्भावित जोखिम विरुद्ध एकजुट हुँदै महासंघले आफ्नो तवरबाट सरकारलाई साथ र सहयोग गर्ने बताए ।
‘ढुवानी व्यवसाय पनि अत्यावश्यक सेवा हो, यसलाई निर्वाध ढङ्गले सञ्चालन गर्न व्यवसायीलाई आग्रह गर्दछौँ,’ उनले भने । महासंघले आफ्नो संस्थामा आबद्ध करिव ६५ हजार व्यवसायीलाई आपूर्ति व्यवस्थालाई सहज पार्नका लागि सबैसँग अनुरोधसमेत गरेको छ ।
राजधानीलगायत देशका हरेक क्षेत्रमा ढुवानी सहज बनाई आवश्यक साथ र सहयोग गर्न महासंघ तल्लीन रहेको महासंघले जनाएको छ । (रासस)
प्रकाशित समय ०९:०९ बजे

















