गृहपृष्ठ पेस्तोल देखाई ‘हिरा’ लुटपाट, ४ जना पक्राउ
पेस्तोल देखाई ‘हिरा’ लुटपाट, ४ जना पक्राउ
‘हिरा’जस्तो देखिने पत्थर लुटपाट गरेको अभियोगमा थाहा नगरपालिका-३, थाना बजारबाट ४ जनालाई आइतबार साँझ प्रहरीले पक्राउ गरेको छ ।
पक्राउ परेकाहरुमा ललितपुर महानगरपालिका भैँसेपाटी बस्ने १९ वर्षीय सुजन आचार्य, सुर्खेत वीरेन्द्रनगर नगरपालिका- १२ बस्ने २६ वर्षीय सुरेन्द्र बसेल, जाजरकोट शिवालय गाउँपालिका- २ बस्ने २७ वर्षीय वीरबहादुर बस्नेत र दाङ सिजुवा गाउँपालिका- १ बस्ने २८ वर्षीय हिमकान्त पुन मगर रहेका छन् ।
कैलाश गाउँपालिका- ५, चौकीटार गोगने बस्ने ७० वर्षीया धनलक्ष्मी गुरुङको साथमा रहेको हिरा जस्तो देखिने पत्थर खरिद गर्ने बहानामा मोलतोल गरेकोजस्तो गरी पेस्तोल देखाई धम्काई उक्त पत्थर लुटी फरार भएको भन्ने खबर प्राप्त हुनासाथ ईलाका प्रहरी कार्यालय पालुङबाट खटिएको प्रहरीले प्रदेश ३-०१-०१-००२२ च ३३६२ नम्बरको कारमा फेला पारी उनीहरुलाई पक्राउ गरेको हो ।
उनीहरूको साथबाट १२.२६० ग्रामको उक्त पत्थर १ थान, चाईनिज पेस्तोल १ थान, त्यसको म्याग्जिन १ थान, गोली ७ राउण्ड, मेटल डिटेक्टर २ थान, ह्याशण्ड सेट ४ थान, ल्यापटप १ थान, क्यामेरा १ थान र मोबाइल ७ थान समेत प्रहरीले बरामद गरेको छ ।
पक्राउ परेका उनीहरू उपर थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ ।
प्रकाशित समय १७:५३ बजे

















