गृहपृष्ठ भारतमा फसे ४८ नेपाली, ३ दिनदेखि भोकै
भारतमा फसे ४८ नेपाली, ३ दिनदेखि भोकै
कोरोना भाइरसबाट बच्नका लागि भारतले लागू गरेको लकडाउनमा ४८ नेपाली फसेका छन् । रोजगारीका सिलसिलामा भारतको पानीपत्त हरियाणा गएका नेपाली अलपत्र परेका हुन् ।
तीन दिनदेखि आफूहरुले खानसमेत नपाएको कपिलवस्तु शिवराज नगरपालिका वडा नं ८ विलरहवाका मुन्ना नेपालीले बताए । उनीहरुले आफूहरुलाई त्यहाँबाट उद्धार गर्न नेपाल सरकारसँग माग गरेका छन् ।
२१ दिनको लामो लकडाउनमा आफूहरुलाई निकै कठिनाइ भइरहेको उनीहरुले बताएका छन् । उनीहरुले घरमा समेत सम्पर्क गर्न नपाएकाले पत्रकारमार्फत आफ्नो घर भएको शिवराज नगरपालिकालाई उद्धार गर्न आग्रह गरेका छन् ।
नगर प्रमुख नेत्रराज अधिकारीले भारतमा फसेका नेपालीले उद्धारका लागि जिल्ला प्रशासन कार्यालयमा जानकारी गराएको बताए । शिवराज ९ का वडाध्यक्ष चुरबहादुर खड्काले नेपालीको उद्धारका लागि नगरपालिकाबाट पहल गरिने जानकारी दिए ।
प्रकाशित समय १९:३५ बजे

















