गृहपृष्ठ प्रवेशद्वारमै ज्वरो मापन, कार्यालय प्रवेश गर्नुअघि साबुनपानीले हात धुनु अनिवार्य

प्रवेशद्वारमै ज्वरो मापन, कार्यालय प्रवेश गर्नुअघि साबुनपानीले हात धुनु अनिवार्य

कोरोना भाइरस (कोभिड- १९)को उच्च जोखिममा रहेका दैनिक सडकमा खट्टिनुपर्ने ट्राफिक प्रहरीहरूका लागि महानगरीय ट्राफिक प्रहरी महाशाखाले सजगताका उपायहरू अपनाएको छ । महाशाखाले कोरोना रोकथाम तथा सम्भावित माहामारीविरुद्ध न्यूनीकरण तथा प्रभावकारी व्यवस्थापनको लागि आवश्यक व्यवस्था गरेको हो ।

महाशाखाले आफ्ना प्रहरी कर्मचारीहरूमा संक्रमणलाई मध्यनजर गर्दै बाहिरी प्रवेश गेटमा पीपीई पोसाक लगाई स्वास्थ्यकर्मीले थर्मल गनमार्फत ज्वरो नाप्ने व्यवस्था गरेको छ । यसअघि नै कार्यालय प्रवेश गर्नुअघि हरेक प्रहरी कर्मचारी र सेवाग्राहीहरुले पहिले साबुन पानीले अनिवार्य हात धुनका लागि महाशाखाले पानीको धारा र छेउमा हेन्डवास राखिसकेको छ । हात धोईसकेपछि मात्र कार्यलय प्रवेश गर्न पाइने व्यवस्था मिलाई सकेको छ । त्यस्तै मातहतका ४४ वटै ट्राफिक कार्यालयहरूमा पनि नियमित रूपमा हात धुने व्यवस्था मिलाएको महाशाखाले जनाएको छ ।

महाशाखाका प्रमुख एसएसपी भिम प्रसाद ढकालकका अनुसार प्रहरी कार्यालयमा विभिन्न किसिमको मानिसहरु आवतजावत गर्ने तथा दैनिक प्रत्यक्ष सडकमा खट्टिनुपर्ने भएकाले विश्व महामारीको रुपमा फैलिरहेको नोभेल कोरोनो भाइरस संक्रमणबाट बच्नका लागि पूर्वसावधान रहन यस्तो व्यवस्था गरिएको बताए ।

महाशाखाले प्राविधिकहरूको सहयोगमा आफैं सेनिटाइजर उत्पादन गरी प्रत्येक ट्राफिक प्रहरीहरूलाई सेनिटाइजरसँगै मास्क पनि वितरण गरिसकेको जानकारी प्रवक्ता जिवन कुमार श्रेष्ठले दिए । वर्तमान सुरक्षा अवस्था समेतलाई मध्यनजर गर्दै हरेक प्रहरी कर्मचारीहरूलाई सचेत रहन र संक्रमणबाट बच्नको सैद्धान्तिक तथा व्यवहारिक ज्ञान महाशाखा मातहतका ट्राफिक प्रहरीहरूलाई दिएको प्रमुख ढकालले जानकारी दिए ।

कोरोना भाईरस समन्वय डेस्क

महाशाखाले स्वास्थ्यकर्मीसहित डीएसपीको कमान्डमा समन्वय डेस्कसमेत गठन गरेको छ। त्यस्तै महाशाखाले २५ जनाको लागि क्वारेन्टाइन वार्ड तयार गरेको जनाएको छ ।

ट्राफिक प्रहरीले विशेष परिस्थिति र आवश्यकताको आधारमा मात्र बिदा र छुट्टी छाड्ने व्यवस्था मिलाएको छ । विदाबाट फर्किएका व्यक्तिहरुलाई अनिवार्य रुपमा १४ दिनसम्म होम क्वामरेन्टाइनमा राखेर चेकजाँचपछि मात्रै डिउटी खटाउने जनाएको छ ।

ब्यारेकभित्रका ट्राफिक प्रहरीको सम्पूर्ण सुरक्षा व्यवस्थाको प्रबन्ध मिलाइएको महाशाखाका प्रवक्ता श्रेष्ठले बताए । ब्यारेकमा सुत्ने खाटको दुरी घटीमा एक मिटरको राख्ने व्यवस्था गरेको छ । त्यस्तै सबै ट्राफिक प्रहरीलाई ड्युटीपश्चात ब्यारेक हाताभित्र नै लकडाउन गरिएको छ। साथै ड्युटीमा कम्तिमा २ मिटर दुरीमा नागरिकसँग दुरी कायम गर्ने व्यवस्था पनि मिलाएको छ ।

प्रकाशित समय १८:४५ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु