गृहपृष्ठ ‘अनधिकृत रुपमा समाचार हटाइएको’प्रति काठमाडौं प्रेसको आपत्ति

‘अनधिकृत रुपमा समाचार हटाइएको’प्रति काठमाडौं प्रेसको आपत्ति

आफ्नो अनलाइन साइटमा प्रकाशन गरेको समाचार अनधिकृत रूपमा हटाइएकाेप्रति अनलाइन न्युज पोर्टल काठमाडौं प्रेसले आपत्ति जनाएकाे छ । काठमाडौं प्रेसका प्रधान सम्पादक कसमस विश्वकर्माद्वारा बिहीबार जारी विज्ञप्तिमा वेब डेभलपरले नै नयाँ एडमिन बनाएर सो समाचार हटाएकाे आरोप लगाइएकाे छ ।

सरकारले चीनबाट मेडिकल सामान खरिद गरेकाे विषयमा ‘महँगो स्वास्थ्य सामग्री खरिदमा रक्षामन्त्री र प्रधानमन्त्रीका सल्लाहकारका छोराको संलग्नता’ शिर्षकका मंगलबार साँझ प्रकाशन गरेकाे समाचार अनधिकृत रूपले हटाइएकाे विज्ञप्तिमा उल्लेख छ ।

‘बुधबार विहान हाम्रो साइटको डेभलपमेन्ट र डिजाइनको काम गर्दै आएको शिरान टेक्नोलोजिज प्रालिको प्यारेन्ट कम्पनी एफवान सफ्टका अध्यक्ष विश्वास ढकाल र सुवास शर्माले फोन गरेर ‘त्यो समाचार हटाइदिनु पर्‍यो, हामीलाई माथिबाट ठूलो दबाव आयो’ भन्ने अनुरोध गर्नुभयो । हामीले प्रकाशित भएको समाचार हटाउन नमिल्ने, बरु समाचारका विषयमा कसैको केही भन्नु छ, खण्डन गर्नु छ भने लिखित रुपमा हामीलाई प्रतिक्रिया पठाउन आग्रह गर्‍यौं,’ काठमाडाैं प्रेसले भनेकाे छ ।

‘विहान १०ः३० बजेतिर शिरान टेक्नोलोजिजका प्रज्ज्वल महर्जनले फोन गरेर ‘त्यो समाचार त हटाउनै पर्‍यो’ भन्नुभयो । उहाँलाई पनि हामीले समाचार हटाउन नमिल्ने जवाफ दियौं । र, साइटमा तलमाथि केही नगर्नुहोला भनेर सचेत गरायौं । त्यसको दुई मिनेटपछि समाचार साइटबाट हटाइयो । त्यसपछि ढकाल, शर्मा र महर्जनलाई पटकपटक फोन गर्‍यौं, मेसेज पठायौं, तर उहाँहरुले कुनै प्रतिक्रिया जनाउनु भएन । समाचार हटाइएकोमा कानुनी प्रक्रियामा जान्छौं भनेपछि फोन उठाउनु भयो र ‘हामी हेर्छौं’ भन्नुभयो । तर, हटाइएको समाचार पुनः प्रकाशन गर्नुको सट्टा करिब २ बजेदेखि ४ बजेसम्म समाचार अपडेट नै गर्न नमिल्ने गरी साइट राखियो । फेरि मेसेज गरेर त्यसमा पनि कानुनी उपचार खोज्ने जानकारी दिएपछि उहाँहरुले बल्ल समाचार प्रकाशन गर्न मिल्ने बनाउनु भयो’ विज्ञप्तिमा उल्लेख छ ।

हेर्नुहोस् विज्ञप्ति :

प्रकाशित समय १५:२० बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु