गृहपृष्ठ कोभिड‑१९ ले नेपाली अर्थतन्त्रमा १७ अर्बसम्म क्षति हुने अनुमान

कोभिड‑१९ ले नेपाली अर्थतन्त्रमा १७ अर्बसम्म क्षति हुने अनुमान

विश्वव्यापी स्वास्थ्य स्वास्थ्य संकट, कोरोना भाइरस महामारी (कोभिड‑१९) का कारण नेपाली अर्थतन्त्रमा १६ अर्ब ९५ करोड रुपैयाँको क्षति पुग्ने एसियाली विकास बैंक (एडीबी)ले प्रक्षेपण गरेको छ ।

बैंकले सार्वजनिक गरेको नेपालको समष्टीगत अर्थतन्त्रको पछिल्लो अद्यावधिक प्रतिवेदनमा यदि कोभिड‑१९ को प्रकोप हालकै अवस्थामा कायम रहेमा र लकडाउन अवधि चैत २५ मा खुलाइएमा यसका प्रभावले कम्तिमा ८ अर्ब ५५ करोड रुपैयाँबराबरको क्षति गर्ने प्रक्षेपण गरिएको छ । यो कुल गार्हस्थ्य उत्पादनको १ प्रतिशतबराबर हो ।

यो अवस्था लम्बिदै केही हप्तासम्म बढेमा आर्थिक क्षतिको अनुपात बढेर १३ अर्ब ८५ करोड पुग्ने र अझ बढी एक‑दुई महिनासम्मै पुगेमा १६ अर्ब ९५ करोड रुपैयाँसम्मको आर्थिक क्षति पुग्ने एडीबीका अर्थशास्त्रीहरूले हिसाब निकालेका छन् ।

GDP Loss_NewsKarobar‘राष्ट्रव्यापी लकडाउनले गर्दाले ठूला आर्थिक गतिविधिहरू रोकिएका छन् । लकडाउनका क्रममा उत्पादनमूलक उद्योगहरू बन्द गरिएका छन्, औषधि आपूर्ति, खाद्यान्न र दूग्धजन्य वस्तुहरू जस्ता आवश्यक वस्तुहरू उत्पादन गर्ने उद्योगहरूमा सञ्चालित छन् । अत्यावश्यक सेवाबाहेक सबै कार्यालयहरू बन्द छन्,’एडीबीको प्रतिवेदनमा भनिएको छ ।

‘लकडाउनका क्रममा आन्तरिक र अन्तर्राष्ट्रिय व्यापार घटेको छ । वस्तु तथा सेवा सेवाको आपूर्ति र साथसाथै मागको अनुपात पनि घटेको छ, जसले आर्थिक सुस्ततालाई बिम्बित गरेको छ,’बैंकले भनेको छ, ‘यदि यो अवस्था छिट्टै सामान्य भएमा कुल गार्हस्थ्य उत्पादन (जीडीपी)मा १ प्रतिशतले कमी आउने छ ।’

बैंकका अर्थशास्त्रीहरूले दोस्रो परिदृश्यमा देशव्यापी लकडाउन अझ हप्तासम्म लम्बिएमा, आवश्यक वस्तुहरूको आयात जारी रहने भए पनि अन्य सबै आर्थिक गतिविधि गम्भीर रूपमा प्रभावित हुनसक्ने अनुमानका आधारमा जीडीपीको १.६ प्रतिशतसम्म क्षति हुनसक्ने प्रक्षेपण गरेका छन् ।

यो अवस्थामा बाह्य आयमा कडा प्रभाव पर्ने, आन्तरिक उत्पादनमा नराम्रो असर पार्ने, बाह्य जाने नेपालीको संख्यामा आउने कमीका कारण रेमिट्यान्स आय व्यापक रूपमा घट्ने बैंकले उल्लेख गरेको छ ।

अर्थतन्त्रको लामो समयसम्म बन्द रहने अवस्थाका कारण दैनिक ज्यालामा बाँचिरहेका हजारौं व्यक्ति गरिबीमा धकेलिने बैंकको प्रतिवेदनमा उल्लेछ ।

तेस्रो परिदृश्यले नेपालमा कोभिड–१९ का कारणले लकडाउन छिटोमा १–२ महिनासम्म विस्तार भएमा नेपाली अर्थतन्त्रको २ प्रतिशतसम्मको क्षति हुने देखाएको छ ।

बैंकले तीनै परिदृष्यमा तीन किसिमको आर्थिक वृद्धिदरको प्रक्षेपण गरेको छ । छिट्टै लकडाउन खुलेर आर्थिक गतिविधि पुनर्बहाल भइहालेमा चालू आर्थिक वर्षमा ५.३ प्रतिशत, केही हप्ता लम्बिएमा ४.८ प्रतिशत र तेस्रो परिदृष्यमा ४.३ प्रतिशतमात्र आर्थिक वृद्धिदर हासिल हुने जनाइएको छ ।

यथास्थितिको प्रक्षेपण यसअघिको ६.३ प्रतिशतको प्रक्षेपणभन्दा १ प्रतिशतभन्दा कम हो भने गत वर्ष हासिल भएको ७.१ प्रतिशतको अनुमानित वृद्धिदरभन्दा करिब २ प्रतिशतको हाराहारीमा कम हो ।

सरकारले यो वर्ष ८.५ प्रतिशतको आर्थिक वृद्धिदर हासिल हुने लक्ष्य राखेको छ । एडीबीले जारी गरेको प्रक्षेपण कोभिड–१९ पछि जारी पहिलो देशगत आर्थिक वृद्धिदर अनुमान हो । यो अनुमानका लागि एडीबीका अर्थशास्त्रीहरूले क्षेत्रगत रुपमा पार्ने प्रभावको पनि आकलन गरेका छन् ।

क्षेत्रगत आकलनअनुसार छोटो अवधिमा लकडाउन खुलेमा कृषिको क्षेत्रगत कुल गार्हस्थ्य उत्पादन (जीडीपीमा ०.४ प्रतिशत, दोस्रो परिदृष्यमा ०.६ प्रतिशत र लम्बिएको अवस्थामा १ प्रतिशतसम्मले क्षति पुग्नेछ ।

यस्तै, उद्योगको जीडीपीमा छोटो अवधिमा लकडाउन खुलेमा १.३ प्रतिशत, केही हप्ता लम्बिएमा २.६ प्रतिशत र लम्बिएको अवस्थामा ३.१ प्रतिशतले कमी आउने छ ।

यसैगरि सेवा क्षेत्रमा छोटो अवधिमा लकडाउन खुलेमा १.२ प्रतिशत, केही हप्ता लम्बिएमा १.८ प्रतिशत र लम्बिएको अवस्थामा २.१ प्रतिशतले कमी आउने एडीबीको प्रतिवेदनमा उल्लेख छ ।

बैंकका अर्थशास्त्रीहरूले थोक तथा खुद्रा व्यापारको क्षेत्रगत जीडीपीमा ०.४ देखि ०.८ प्रतिशतसम्म, होटल तथा रेष्टुँरा क्षेत्रमा ०.०९ प्रतिशतदेखि ०.१ प्रतिशतसम्म, यातायात, भण्डारण तथा सञ्चारको क्षेत्रगत जीडीपीमा ०.१ देखि ०.६ प्रतिशत नोक्सानी हुने आधारमा समग्र जीडीपीमा हुनसक्ने कमीको अनुमान गरेका हुन् ।

यद्यपि, एडीबीका अर्थशास्त्रीहरुले सेवा क्षेत्रका गणनामा न्यून मूल्यांकित गरेको देखिन्छ । केन्द्रीय तथ्यांक विभागका अनुसार पर्यटनले कुल गार्हस्थ्य उत्पादनमा २ प्रतिशतको योगदान राख्छ । यो क्षेत्र हवाई तथा स्थल यात्रा प्रतिबन्ध र सार्वजनिक ठाउँमा भेला हुन निषेधित गरिएकाले सर्वाधिक प्रभावित भएको छ । पर्यटन व्यवसायीहरू ४० अर्बको क्षति हुने बताइरहेका बेला एडीबीका अर्थशास्त्रीहरूले ४४ करोडदेखि ६६ करोड रुपैयाँसम्मको मात्र क्षति गणना गरेका छन् ।

यस्तै, यातायात, भण्डारण र सञ्चार क्षेत्रले जीडीपीमा ७.२५ प्रतिशतको हिस्सा राख्छ । यो क्षेत्र पनि अहिले पूरै ठप्प र प्रभावित छ । केही सातापति यात्रामा खुकुलोपन अबलम्बन गरिए पनि आउँदा दिनमा यातायात सञ्चालन प्रभावित भइरहने छ, किनकी संक्रमणका त्रास कायमै रहने छ ।

यसैगरी, थोक तथा खुद्रा व्यापारले करिब साढे १४ प्रतिशतको हिस्सा ओगट्छ । औद्योगिक उत्पादनमा हुने कमी, आयातमा भइरहेको र हुनसक्ने कमीका कारणले यो क्षेत्र अर्को प्रभावित हुने क्षेत्र हुनेछ । पहिलो ७ महिनामा नै आयातमा ६ प्रतिशतले कमी आएको छ । रकममा यो करिब २ खर्ब रुपैयाँ हाराहारीको कमी हो ।

एडीबीको प्रक्षेपणमा भने यथास्थितिमा १ अर्ब ८३ करोडदेखि ३ अर्ब ८० करोड रुपैयाँसम्मको क्षति पुग्ने अनुमान छ । वास्तविक तहमा यो अनुमानभन्दा निकै ठूलो क्षति पुग्नसक्छ ।

केही अर्थशास्त्रीहरूले नेपालमा अनौपचारिक अर्थतन्त्र, छाया अर्थतन्त्रले कुल आर्थिक गतिविधिको आधा हिस्सा ओगट्ने भएका कारण तत्काल आर्थिक वृद्धिदरमै ठूलो अंकले गिरावट न आए पनि मध्यमकालमा लकडाउन बढ्दै गए यसले रोजगारी चक्रमा असर पारी कम्ति २ प्रतिशले गरिबी बढ्ने चेतावनी दिएका छन् ।

नेपालका प्रायः सबै रोजगार गन्तव्यमा अहिले ठूलो संख्यामा नेपाली आप्रवासी श्रमिकहरूले रोजगारी गुमाएका छन् । राष्ट्रिय तथा अन्तर्राष्ट्रिय लकडाउनका कारण ती श्रमिकहरू नेपाल फर्कन सकेका छैनन ।

वैदेशिक रोजगार विभागका अनुसार अहिले विदेशमा २० लाखको हाराहारीमा नेपाली श्रमिकहरू सक्रिय रूपमा कार्यरत छन् । छिमेकी मुलुक भारतमा १० लाख नेपाली भएको अनुमान छ । यीमध्ये आधा श्रमशक्ति पनि नेपाल फर्किए यहाँको श्रम बजारले धान्न सक्ने गरि रोजगारी सिर्जना गर्न सरकार र निजी क्षेत्र दुवै असमर्थ छ ।

विश्व अर्थतन्त्रमा कोभिड-१९ को प्रभावले उत्पन्न गर्ने आर्थिक मन्दीका प्रभाव जति बढी गहिरो हुँदै गयो, त्यसको प्रभाव एसियाका विकासशील अर्थतन्त्रमा पनि पर्ने एडीबीद्वारा शुक्रबारै सार्वजनिक एसियन डेभलपमेन्ट आउटलूक-२०२० मा प्रक्षेपण गरिएको छ ।

यो पनि पढ्नु होस्ः

नेपालको आर्थिक वृद्धिदर झन्डै २ प्रतिशतले घट्ने

प्रकाशित समय १७:१५ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु