गृहपृष्ठ बसन्त चौधरी फाउन्डेसनद्वारा सरकारलाई स्वास्थ्य सामग्री हस्तान्तरण

बसन्त चौधरी फाउन्डेसनद्वारा सरकारलाई स्वास्थ्य सामग्री हस्तान्तरण

स्वास्थ्य तथा जनसंख्यामन्त्री भानुभक्त ढकालले कोरोना भाइरस विरुद्धको अभियानमा निजी क्षेत्रको सहयोग उपलब्ध भइरहेको बताएका छन् ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयमा आज नर्भिक इन्टरनेसनल अस्पताल तथा वसन्त चौधरी फाउन्डेसनले उपलब्ध गराएको स्वास्थ्य सामग्री हस्तान्तरण कार्यक्रममा मन्त्री ढकालले सरकारलाई निजी क्षेत्रले सहयोग गरिरहेको बताएका हुन् ।

‘कोरोना महामारी विरुद्धको अभियानमा सरकारी तथा गैरसरकारी क्षेत्रबाट सहयोग उपलब्ध भइरहेको छ,’ उनले भने, ‘हामी सबै यस अभियानमा जुट्नुपर्छ ।’ रोग फैलिन नदिन सबैले आ–आफ्नो ठाउँबाट सहयोग गर्नुपर्ने उनले बताए ।

‘अब हामीले आजदेखि कोरोना विरुद्धको अभियानको दायरा फराकिलो बनाएका छौँ,’ मन्त्री ढकालले भने, ‘उपचारमा अहोरात्र खटिने स्वास्थ्यकर्मी र सुरक्षाकर्मीको सुरक्षालाई ध्यानमा राखी उपचार प्रक्रिया अघि बढाएका छौँ ।’ कैलालीमा विदेशमा नगएको व्यक्तिमा पनि कोरोना भाइरसको संक्रमण देखिएकाले संक्रमण दोस्रो चरणमा प्रवेश गरेको उनको भनाइ थियो ।

सो अवसरमा नर्भिक अस्पताल तथा वसन्त चौधरी फाउन्डेसनका प्रतिनिधिले मन्त्री ढाकाललाई ६० लाख रूपैयाँ बराबरको स्वास्थ्यजन्य सामग्री हस्तान्तरण गरेका थिए । फाउन्डेसनले थ्री एम एन ९५ मास्क दुई हजार थान, थ्री प्ले सर्जिकल मास्क ४८ हजार थान तथा मेडिकल कम्प्लिट सेट एक हजार थान मन्त्रालयलाई उपलब्ध गराएको हो ।

नर्भिक अस्पतालले चैत मसान्तसम्म उक्त अस्पतालमा उपचाररत सबै बिरामीलाई २० प्रतिशत छुट दिने सो अवसरमा फाउन्डेसनले मन्त्री ढकाललाई जानकारी गराएको थियो । फिभर क्लिनिक र आइसोलेसन कक्षमा उपचार गराउने विपन्न बिरामीलाई निःशुल्क उपचारको व्यवस्था मिलाइएको सो अस्पतालले जनाएको छ ।

सरकारले स्थापना गरेको कोरोना भाइरस संक्रमण रोकथाम, नियन्त्रण तथा उपचार कोषमा फाउन्डेसनले यसअघि नै ५० लाख रूपैयाँ उपलब्ध गराइसकेको छ ।

प्रकाशित समय १२:१५ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु