गृहपृष्ठ अरुण तेस्रोको काम सुरु, आयोजना स्थलमा १५ सय कामदार

अरुण तेस्रोको काम सुरु, आयोजना स्थलमा १५ सय कामदार

लकडाउनका कारण रोकिएको निर्माणधीन अरुण तेस्रो जलविद्युत् आयोजनाको काम शुरु भएको छ । सङ्खुवासभाको मकालु र चिचिला गाउँपालिकामा निर्माणाधीन नौ सय मेगावाटको सो आयोजनालाई काम गर्न अनुमति दिएकाले सुरक्षा सतर्कता र नयाँ कामदार नथप्ने समझदारीपछि काम थालिएको प्रमुख जिल्ला अधिकारी जीवनप्रसाद दुलालले जानकारी दिए ।

कोरोना भाइरस नियन्त्रणका लागि गरिएको लकडाउनले काम प्रभावित भएपछि कामदार नथप्ने र निर्माण स्थलमा भएकालाई परिचालन गरी काम थालिएको कम्पनीका कार्यकारी निर्देशक अरुन धिमानले बताए । अधिकांश मजदूर बाहिरी जिल्ला र भारत भएका कारण घर फर्किन सम्भव नभएको बताइएको छ । भारतीय निर्माण कम्पनी सतलजले निर्माणको काम गरिरहेको छ ।

आयोजना स्थलमा रहेका करिब १ हजार ५ सय कामदारले काम थालेका हुन् । यसअघि आयोजनामा ३ हजार कामदार रहे पनि कोरोनाको त्रासले धेरैजसो घर गएको निर्माण कम्पनीले जनाएको छ । अधिकांश कामदार भारतीय छन् ।

कामदारको स्वास्थ्य सुरक्षालाई प्राथामिकता दिदै काम सुरु गरिएको जनाइएको छ । विद्युत गृह र बाँध लगायतका विभिन्न सुरुङमा विस्फोटको काम थालिएको जनाइएको छ । लकडाउनले आयोजनामा चाहिने सिमेन्ट, डण्डी लगायतका निर्माण सामग्रीको अभाव हुने देखिएको छ । (रासस)

प्रकाशित समय २०:५५ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु