गृहपृष्ठ अब बन्ने योजना माग र आवश्यकताको आधारमा : मुख्यमन्त्री राई
अब बन्ने योजना माग र आवश्यकताको आधारमा : मुख्यमन्त्री राई
प्रदेश १ का मुख्यमन्त्री शेरधन राईले प्रदेशमा अब बन्ने योजना माग र आवश्यकताको आधारमा तराई पहाड र हिमालको समुचित विकास हुनेगरी बन्ने आधार तयार भएको बताएका छन् ।
बुधबार प्रदेश १ को आर्थिक मामिला तथा योजना मन्त्रालयले आयोजना गरेको प्रदेशस्तरीय योजना र बजेट तथा कार्यक्रम तर्जुमा दिग्दर्शनको सार्वजनिकीकरण कार्यक्रमलाई सम्बोधन गर्दै मुख्यमन्त्री राईले योजना संकलन, छनोट, कार्यान्वयन र तर्जुमाको वैज्ञानिक आधार बनेको उल्लेख गरे ।
यसअघि योजना संकलन, छनोट र तर्जुमा गर्ने आधार नहुँदा व्यक्तिगत सम्बन्ध र प्रभावका आधारमा योजनाहरु बन्ने र कार्यन्वयनमा समस्या भएको उल्लेख गर्दै दिग्दर्शनले योजना कार्यान्वयनको पारदर्शिता र योजनावद्ध विकासलाई सघाउ पुर्याउने मुख्यमन्त्री राईको भनाइ थियो ।
सरकारले चाहेको आर्थिक समृद्धिका लागि प्रभावकारी योजना आवश्यक पर्ने र प्रभावकारी योजनाका लागि विभिन्न प्रकारका मापदण्डहरुको पालना गर्नुपर्ने बताउँदै मुख्यमन्त्री राईले यो दिग्दर्शनले त्यसका लागि वैज्ञानिक आधारहरु तयार गरेको बताए । ‘अहिले कोभिड- १९ ले गर्दा समग्र अर्थतन्त्रमा असर परेको छ ।
आगामी वर्षको योजना निर्माणमा यसले कस्तो असर पार्छ भन्ने यकिन नभएका कारण चुनौती थपिएको छ,’ उनले भने । अर्थतन्त्रमा पर्ने असर र त्यसको सामना गर्नुपर्ने समुचित विकासका लागिसमेत यो दिग्दर्शनले आधार तयार गरेको मुख्यमन्त्री राईले बताए ।
अहिले कोरोना भाइरसका कारण देश लकडाउनमा भएकाले विकासका कामहरु ठप्प हुँदा अत्यावश्यक योजनाहरुको काम सामाजिक दुरी कायम गरेर अगाडि बढाउने तयारी भइरहेको समेत उनले जानकारी दिए ।
विकास बजेट रोक्नु आवश्यक छैन
कार्यक्रमा आर्थिक मामिला तथा योजनामन्त्री इन्द्र बहादुर आङ्बोले अहिलेको अवस्थामा विकास बजेट काटेर कोरोना कोषमा हाल्नु पर्ने अवस्था नरहेको तर्क गरे । यस वर्षको विकास बजेटलाई कोरोनाले प्रभाव नपार्ने बताउँदै त्यसका लागि अन्य विभिन्न क्षेत्रको बजेट रोक्का गरिएको बताए । भोलिका दिनमा कोरोनाले अर्थतन्त्रमा पार्नसक्ने प्रभावलाई मध्यजनर गर्दै बेरोेजगारी, खाद्यान्न संकट, उद्योग व्यवसायको संकटबाट ध्यान पुर्याउनुपर्ने अवस्था आउनसक्ने मन्त्री आङ्बोको भनाइ थियो ।
प्रकाशित समय २२:११ बजे

















