गृहपृष्ठ आर्थिक प्याकेज ल्याउन निजी क्षेत्रको जोड
आर्थिक प्याकेज ल्याउन निजी क्षेत्रको जोड
कोरोनाभाइरस (कोभिड १९) को संक्रमणले क्षति पु¥याएको निजी क्षेत्रलाई आर्थिक प्याकेजको व्यवस्था गर्न सरोकारवालाहरुले माग गरेका छन् । बुधबार आर्थिक पत्रकार समाज (सेजन)ले आयोजना गरेको ‘कोरोनाको महामारीबाट निजी क्षेत्रमा प्रभाव र आगामी कदमहरु’ विषयमा भिडियो कन्फ्रेन्समार्फत निजी क्षेत्रका सरोकारवालाहरुले यस्तो माग गरेका हुन् ।
नेपाल उद्योग वाणिज्य महासंघ (एफएनसीसीआई) का अध्यक्ष भवानी राणाले निजी क्षेत्रलाई परेको क्षतिको आकलन गरी राहत प्याकेज ल्याउनुपर्ने बताइन् । ‘सरकारले आफ्नो क्षमताअनुसार राहत प्याकेज ल्याओस्,’ अध्यक्ष राणाले भनिन् । उद्योग, पर्यटन, उत्पादनलगायतका उद्योगमा कोरोनाभाइरसका कारण निकै क्षति भएको भन्दै अध्यक्ष राणाले क्षेत्रगत रुपमा क्षतिको विवरण हेरेर प्याकेजको व्यवस्था गर्नुपर्ने बताइन् ।
सरकारसँग राहत माग्ने मात्रै होइन, कारोरोनासँग लड्न पनि निजी क्षेत्र एक भएर लागेको उनको भनाइ छ । अहिले उद्योग वाणिज्य महासंघ, नेपाल उद्योग परिसंघ, नेपाल चेम्बर्स अफ कमर्सलगायत निजी क्षेत्र मिलेर अगाडि बढेको उनले जानकारी गराइन् ।
नेपाल उद्योग परिसंघका अध्यक्ष शतिशकुमार मोरले कोरोनाका कारण उद्योग तथा व्यवसायमा परेको क्षतिलाई रहत दिन सरकारले ऋणमा सहुलियत दिनुपर्ने बताए । त्यसका लागि राष्ट्र बैंक र अर्थ मन्त्रालयलाई जानकारीसमेत गराएको अध्यक्ष मोरले बताए । अहिलेको अवस्थामा ब्याज कम्तीमा ५ प्रतिशत घटाउनुपर्ने उनको माग छ । ‘सहज आपूर्तिका लागि उत्पादनसम्बन्धी उद्योग खोल्नुपर्ने अवस्था भए पनि एकातिर कच्चा पदार्थको अभाव र अर्कातिर कामदार आउन नमान्ने समस्या छ ।’ अहिले १० १२ केजीका खाद्यान्नका प्याकेट बनाएर परिसंघले सातै प्रदेशमा पठाएको र सरकारलाई पनि ७५ हजार मास्क तथा पिपिइ वितरण गरेको छ ।
त्यसैगरी, नेपाल चेम्बर्स अफ कमर्सका वरिष्ठ उपाक्ष्यक्ष राजेन्द्र मल्लले अहिलेको परिस्थितिमा सरकारले विशेष आर्थिक प्याकेज ल्याउनुपर्ने बताए । तर, तत्काल आर्थिक पाटोलाई छोडेर रोगबाट कसरी उन्मुक्ति पाइन्छ भन्नेमा सरकार केन्द्रित हुनुपर्ने उनको भनाइ छ । खास गरी सरकारले कृषि र औषधीजन्य सामानमा आत्मनिर्भर बन्नेखालका प्याकेज ल्याउनुपर्ने वरिष्ठ उपाध्यक्ष मल्लले बताए । ‘व्यवसायीहरुले पनि कमाउने धन्दा मात्रै नभई सेवा गर्ने हिसाबले पनि काम गर्नुपर्छ,’ उनले भने, ‘आर्थिक क्षेत्रलाई माथि उकास्न सरकार र निजी क्षेत्र मिलेर जानुपर्छ ।’
प्रकाशित समय २१:२० बजे

















