गृहपृष्ठ कोरोनाबाट मृत्यु भए कसरी हुन्छ शव व्यवस्थापन ? यस्तो छ कार्यविधि
कोरोनाबाट मृत्यु भए कसरी हुन्छ शव व्यवस्थापन ? यस्तो छ कार्यविधि
मानिस मरिसकेपछि अन्तिम संस्कार गर्ने हरेक समुदायमा आ-आफ्नै विधि हुन्छ । सोहीबमोजिम शवको अन्त्येष्ठि हुने गर्छ । तर कोरोना भाइरस (कोभिड-१९) बाट मृत्यु भएको खण्डमा भने आफूले चाहेजसरी शवको अन्त्येष्ठि गर्न पाइन्न । अहिले विश्वका अन्य मुलुकहरूमा पनि लागू भएको छ ।
नेपालमा पनि काेराेनाका कारण मृत्यु भएकाहरूकाे शव व्यवस्थापन गर्न सरकारले कार्यविधि बनाएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले बनाएको शव व्यवस्थापन कार्यविधिमा मृत्यु भएका व्यक्तिको अन्तिम कर्म अन्य रोगी मृतकको जस्तो नहुने उल्लेख छ ।
कार्यविधिअनुसार कोरोनाबाट मृत्यु भएकाको शव उठाउनुअघि शव वाहनका चालक र कर्मचारीले व्यक्तिगत सुरक्षा सामग्री (पीपीई) अनिवार्य प्रयोग गर्नुपर्नेछ । मृतकको अन्तिम संस्कारमा सहभागी हुने आफन्त र नातेदार सबैले अनिवार्य रुपमा पञ्जा, चस्मा, टोपी, मास्क सहितको पीपीई लगाउनुपर्ने तथा मृतकको शवलाई कम चलाउने र शवमा लागेका पाइप, क्याथेटरलगायत सामग्री सतर्कतापूर्वक हटाउन कार्यविधिमा भनिएको छ ।
६० वर्ष उमेर कटेका व्यक्ति र दीर्घ रोगीलाई कोरोनाका कारण ज्यान गुमाएका व्यक्तिको नजिकै जान दिन नदिने, अन्तिम संस्कार गर्दा सकभर शव नछुने तथा कोरोनाबाट मृत्यु भएकाको पोष्टमार्टम सामान्यतया गर्न नपर्ने, गरे पनि सावधानी अपनाएर मात्रै गर्ने कार्यविधिले तोकेको छ ।
त्यस्तै मृतकलाई अन्तिम संस्कार गर्ने घाटसम्म लान साधारण शव वाहनको प्रयोग गर्न सकिए पनि सकेसम्म शवलाई छिटो अन्तिम संस्कार गर्ने ठाउँमा पुर्याउन भनिएको छ । उक्त कार्यविधिमा मृतकका आफन्तले शव हेर्न चाहेमा एक मिटरको दुरीबाट मात्र हेर्न पाउने उल्लेख छ ।

प्रकाशित समय १५:३३ बजे

















