गृहपृष्ठ सांसदद्वय महेश बस्नेत, कृष्णकुमार श्रेष्ठ र पूर्वआइजीपी सर्वेन्द्र खनालविरुद्ध अपहरण मुद्दा दर्ता

सांसदद्वय महेश बस्नेत, कृष्णकुमार श्रेष्ठ र पूर्वआइजीपी सर्वेन्द्र खनालविरुद्ध अपहरण मुद्दा दर्ता

अपहरण तथा शरीर बन्धकसम्बन्धी कसुरमा नेकपा सांसदद्वय महेश बस्नेत, कृष्णकुमार श्रेष्ठ (किसान) र पूर्वआइजीपी सर्वेन्द्र खनालविरुद्ध काठमाडौं जिल्ला सरकारी वकिलको कार्यालयमा उजुरी दर्ता भएको छ ।

जनता समाजवादी पार्टी (जसपा)का सांसद डा.  सुरेन्द्र यादवलाई अपहरण गरेर महोत्तरीबाट काठमाडौं ल्याएको आरोपमा सोमबार दिउँसो उजुरी दर्ता भएको सहायक न्यायाधिवक्ता नुमराज खनालले बताए । उनका अनुसार अब  सो उजुरीमाथि अध्ययन गरेर आवश्यक प्रक्रियाका लागि प्रहरीसमक्ष पठाइनेछ ।

मुलुकी फौजदारी कार्यविधि संहिता, २०७४ को दफा ५ मा जाहेरी दर्खास्त वा सूचना प्रहरीले दर्ता नगरे सरकारी वकिलको कार्यालयमा उजुरी गर्न सकिने व्यवस्थाअनुसार सांसद यादवले उजुरी दर्ता गरेका हुन् ।

यसअघि पूर्वस्वास्थ्य मन्त्री रहेका यादव अपहरण प्रकरणको उजुरी महानगरीय प्रहरी परिसर, काठमाडौंले लिन नमानेपछि जसपाका नेताहरु वैशाख १६ गते सरकारी वकिलको कार्यालय पुगेका थिए । तर सरकारी कार्यालयले जाहेरी अध्ययनका लागि भन्दै उजुरी छाडेर जान भनेको थियो ।

नेकपाका सांसदद्वय बस्नेत र श्रेष्ठ तथा पूर्वआइजीपी खनालले समाजवादी पार्टी (एकीकरण हुनुअघि) फुटाउने योजनाअनुसार महोत्तरीस्थित घरबाटै सांसद यादवको अपहरण गरेको जसपाको दावी छ । यस्तै सांसद यादवले घटनाको छानबिनका लागि राष्ट्रिय मानअधिकार आयोगमा पनि उजुरी दिएका थिए ।

आजै बस्नेत, श्रेष्ठ र खनालले पनि राष्ट्रिय मानव अधिकार आयोगमा ‘आफूहरुले यादवलाई अपहरण नगरेको’ भन्दै उजुरी दिएका छन् ।

प्रकाशित समय १६:१४ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु