गृहपृष्ठ काठमाडौंबाट विराटनगर हिँडेका पैदलयात्री नागढुंगामा लुटिए
काठमाडौंबाट विराटनगर हिँडेका पैदलयात्री नागढुंगामा लुटिए
लकडाउन घोषणको कारणले सवारी साधन नचलेपछि काठमाडौँमा अलपत्र परेका एक भारतीय मजदूर पैदल हिँडेर घर जान लाग्दा नागढुंगामा लुटिएका छन् । काठमाडौँमा घर निर्माणमा संलग्न ४५ वर्षीय राघवेन्द्र चौधरी काठमाडौँबाट विराटनगर जाने क्रममा लुटिएका हुन् ।
‘नागढुंगाभन्दा तल बस पाइन्छ’ भन्ने आश्वासन दिएर निजलाई लुटिएको थियो । भारत, मालदह घर बताउने चौधरीलाई घाँटीमा खुकुरी तेर्स्याए निजसँग रहेको १५ हजार रूपैयाँ र झोला लुटिएको बताइएको छ । ठेकेदारले घर जानलाई सो रकम दिएका थिए ।
लुटिएपछि पैसाको अभावले पीडित चौधरी भोकै हेटौँडासम्म आइपुगेका थिए । बुधचोकमा भेटिएका उनलाई खाजा, पानी र बाटा खर्च दिँदै मकवानपुर प्रहरीलाई जिम्मा लगाइएको थियो । उनी विराटनगर जान लागेका थिए ।
लकडाउन लम्बिँदै जाँदा दिनहुँ सैयौँ मजदूर हेटौँडा हुँदै आआफ्नो गन्तव्यमा जाँदै गरेको देखिन्छ । बाटामा खाजा र खाना नपाइएको कलैयाका रामपुकार ठाकुरले बताए । (रासस)
प्रकाशित समय २२:५१ बजे

















