गृहपृष्ठ सबैभन्दा बढी कोरोना संक्रमित भेटिएको नेपालगञ्जमा डब्लुएचओको टोली
सबैभन्दा बढी कोरोना संक्रमित भेटिएको नेपालगञ्जमा डब्लुएचओको टोली
लक्षण नै नदेखिएर धेरै संख्यामा कोरोना संक्रमित नेपालगञ्जमा भेटिएपछि विश्व स्वास्थ्य संगठन (डब्लुएचओ)को टोली नेपालगञ्ज आइपुगेको छ । नेपालगञ्जमा देशभरमै धेरै संख्यामा कोरोना संक्रमित भेटिएपछि डब्लुएचओको स्वास्थ्यकर्मी तथा प्राविधिक टोली मंगलबार नेपालगञ्ज आइपुगेको जिल्ला स्वास्थ्य कार्यालय बाँकेका कोरोना फोकल पर्सन नरेश श्रेष्ठले जानकारी दिए ।
उनका अनुसार टोलीले नेपालगञ्जका विभिन्न टोल तथा बस्ती पुगेर स्वाब संकलनमा सहजीकरण गरिरहेको छ । नेपालगञ् उपमहानगरपालिका- ८, महेन्द्रपार्कनजिक पाल लगाएर बाँकेको स्वास्थ्य टोलीसँग डब्लुएचओको उक्त टोलीले कोरोना भाइरस आंशकितको स्वाब संकलनमा सहयोग गरिरहेको फोकल पर्सन श्रेष्ठले जानकारी दिए । चिकित्सकलगायत प्राविधिक रहेको टोलीका सदस्यहरुको विस्तृत विवरण खुलाइएको छैन ।
डब्लुएचओको टोली यतिबेला नेपालगञ्जको कोरोना संक्रमित स्थलमा काम गरिरहेको छ । बुधबारदेखि स्वाब संकलन तथा परीक्षणमा पनि उक्त टोलीले सहकार्य गरेर काम गर्ने बाँकेका प्रमुख जिल्ला अधिकारी कुमारबहादुर खड्काले जानकारी दिए । उनले भने, ‘जिल्लाका स्वास्थ्यकर्मीहरुलाई सहयोग गर्न आएको डब्लुएचओको टोलीले यहाँ आवश्यकताअनुसारका काम गर्नेछ ।’
भेरी अस्पतालका मेडिकल सुपरिटेण्डेण्ट डा. प्रकाश थापाका अनुसार पहिलो संक्रमितको सम्पर्कमा आएका १०५ जनाकै रिपोर्ट आइसकेको छ । आइतबार ६० जनाको आउँदा १५ जनामा संक्रमण देखिएको थियो भने बाँकी मंगलबार ४५ जनाको रिपोर्ट आउँदा सात जनामा पोजेटिभ देखिएर बाँकेमा संक्रमितको कुल संख्या २३ पुगेको छ ।
समुदायस्तरमा स्वाब संकलन सुरु
नेपालगञ्जको कोरोना संक्रमित वडा नं ८ का पाँच स्थानबाट समुदायस्तरमा स्वाब संकलन सुरु गरिएको छ । उक्त वडाको जोलाहनपुर्वा टोलमा मात्रै २३ जना संक्रमित फेला परेपछि वडाका विभिन्न स्थानबाट समुदायस्तरमा कोरोना परीक्षणका लागि स्वाब संकलन तीव्र पारिएको जिल्ला स्वास्थ्य कार्यालय बाँकेका कोरोना फोकल पर्सन श्रेष्ठले जानकारी दिए ।
उनका अनुसार स्वास्थ्य तथा जनसंख्या मन्त्रालय, डब्ल्युएचओ र प्रदेश सामाजिक विकास मन्त्रालयको टोलीको प्रत्यक्ष निगरानीमा मंगलबार बेलुका ५ बजेदेखि वडा नं ८ का भैरव टोल, रानीतलाउको सब्जीमण्डी, नाउ टोल, पण्डन मोहला तथा टाँगा स्टेशन आसपासका क्षेत्रबाट स्वाब संकलन सुरु गरिएको छ ।
गत शुक्रबारदेखि मंगलबारसम्मका अवधिमा उक्त क्षेत्रका २३ जनामा कोरोना संक्रमण पुष्टि भएपछि अहिले बाँकेलाई रेड जोनमा राखिएको छ । ठूलो संख्यामा संक्रमित फेला परेपछि उनीहरुसँग सम्पर्कमा आएका व्यक्तिको खोजी गरी धेरैभन्दा धेरैजनाको स्वाब संकलन गर्न यही वैशाख २५ गते मध्यरातसम्म उपमहानगरपालिका क्षेत्रलाई नै निषेधित क्षेत्र घोषणा गरिएको प्रजिअ खड्काले जानकारी दिए ।
प्रकाशित समय २२:३४ बजे
















