गृहपृष्ठ ड्रोनबाट लकडाउनको निगरानी
ड्रोनबाट लकडाउनको निगरानी
भीमदत्त नगरपालिकामा लकडाउन पालना गराउन ड्रोन गस्ती सुरु गरिएको छ । नगरपालिका सबै १९ वटै वडामा ड्रोन गस्ती गरी लकडाउन कार्यान्वयनको अवस्था जानकारी लिन थालिएको हो ।
रोबोटिक एसोसिएसन अफ नेपाल इन्जिनिरिङ र भीमदत्त नगरापलिकाबीच लकडाउन निगरानीका लागि ड्रोन गस्ती गर्ने सम्झौता भएको थियो । सम्झौताअनुसार शुक्रबारदेखि ड्रोन गस्ती सुरु भइसकेको नगर प्रमुख सुरेन्द्र विष्टले जानकारी दिए ।
लकडाउन उल्लंघन गरिएको पाइएमा पालना गराउन तत्कालै निर्देशनसमेत दिइने नगर प्रमुख विष्टले बताए । ‘कोरोना भाइरस रोकथामका लागि लागू गरिएको लकडाउनको छ पालना भए/नभएको जानकारी लिन ड्रोनबाट निगरानी भइरहेको छ,’ उनले भने ।
ड्रोन गस्तीका आधारमा लकडाउन पालनालाई प्रभावकारी बनाउन स्थानीय प्रशासनसँग सहकार्य र समन्वय गरिनेसमेत नगर प्रमुख विष्टले बताए । गस्तीका क्रममा नगरपालिकाको कुनै स्थानमा भीडभाड देखिएमा हट्नका लागि ड्रोनबाटै निर्देशन दिइने र सूचना प्रवाहसमेत गरिने भएको छ । ‘ड्रोनले लकडाउन उल्लंघन भएको फेला पारे नियमअनुसार कारबाही हुन्छ,’ नगर प्रमुख विष्टले भने ।

रोबोटिक एसोसियन अफ नेपाल इन्जिनिरिङका सुदूरपश्चिम शाखा अध्यक्ष दिपक विष्टले नगरपालिकासित गरिएको सम्झौताअनुसार ड्रोन गस्ती भइरहेको बताए । उनका अनुसार नेपालमै पहिलोपटक भीमदत्त नगरपालिकामा ड्रोनबाट लकडाउन निगरानी गरिएको हो ।
ड्रोन गस्तीबाट लकडाउन निगरानी गर्न सुदूरपश्चिमाञ्चल विश्वविद्यालय इन्जिनियरिङ संकायका विद्यार्थीले समेत सहयोग गरेका छन् । विश्वविद्यालयका विद्यार्थी लोचन कार्कीले ड्रोन गस्तीले भीमदत्त नगरपालिकामा लकडाउन पालना प्रभावकारी बनाउन सहयोग पुग्ने बताए ।
प्रकाशित समय १८:०२ बजे

















