गृहपृष्ठ ६ महिना पनि टिकेन दुई करोड १० लाखको लगानीमा बनाएको पुल

६ महिना पनि टिकेन दुई करोड १० लाखको लगानीमा बनाएको पुल

फाइल तस्बिर

निर्माण सम्पन्न भएको छ महिना पनि नपुग्दै म्याग्दीको अन्नपूर्ण गाउँपालिका–५ शिख–स्वाँत जोड्ने आर्क मोटरेबल पुल जीर्ण बनेको छ । पूर्वाधार विकास योजना कार्यालयले दुई करोड १० लाख रुपैयाँको लागतमा कालिका शर्मा रसुवा जेभीमार्फत गत मंसिरमा सो पुल निर्माण गरेको थियो ।

पाँच सय ३१ मिटर लम्बाइको सो पुलको बीच भागमा दुईवटा भ्वाङ परेको स्थानीयवासी सेते तिलिजाले जानकारी दिए । पुल दायाँबायाँ भागको जमीन भासिएको छ भने पर्खालसमेत भत्किन थालेकाले कुनै पनि बेला दुर्घटना हुनसक्ने स्थानीयबासीको भनाइ छ ।

पुलको अवस्था र त्यसबाट उत्पन्न सम्भावित जोखिमका बारेमा स्थानीय जनप्रतिनिधिलाई समेत जानकारी गराइएको छ । ठेकेदार कम्पनीले पुल निर्माण गर्दा गुणस्तरहीन सामग्री प्रयोग गरेको जनप्रतिनिधिलाई थाहा हुँदाहुँदै पनि चासो नराखेकाले यस्तो अवस्था आएको स्थानीयवासी सुबोध बरुवाल क्षेत्रीले बताए ।

ठेकेदारले एकसरो ढलान गरेको र स्थानीय जनप्रतिनिधिले पनि चासो नराखेको हुँदा ६ महिना पनि नबित्दै पुल भत्किने अवस्थामा पुगेको स्थानीयबासी डिल गर्वुजाले बताए ।

प्रकाशित समय ०८:५५ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु