गृहपृष्ठ दार्चुलाको छाङरुमा बिओपी स्थापना, इन्सपेक्टरको नेतृत्वमा २५ जनाको टोली खटाइँदै

दार्चुलाको छाङरुमा बिओपी स्थापना, इन्सपेक्टरको नेतृत्वमा २५ जनाको टोली खटाइँदै

भारतले लगातार नेपाली भूभाग मिच्न थालेपछि सरकारले कालापानी नजिकै दार्चुलाको छाङरु क्षेत्रमा सशस्त्र प्रहरी बलको फौज (बिओपी) राख्ने भएको छ । प्रहरी पोष्ट स्थापनाका लागि नेपाली सेनाको हेलिकोप्टरमार्फत् छाङरु क्षेत्रमा गएको छ ।

गृहमन्त्रीको निर्देशनमा गृहमन्त्रीका सुरक्षा सल्लाहकार प्रा.डा. इन्द्रजीत राई र सशस्त्रका एआइजी ईश्वरबाबु थापासहितको टोली दार्चुला गएको छ । दार्चुलाबाट २५ जना सशस्त्र प्रहरी र ९ जना नेपाल प्रहरीको टोली लिएर छाङरु जाने बताइएको छ ।

भारतको पिथौरागढबाट नेपालको कालापानीस्थित गुञ्जी हुँदै चीनको मानसरोवर जाने लिपुभञ्याङसम्मको सडक निर्माण गरी भारतले उद्घाटन गरेपछि सीमा रक्षाका लागि सरकारले त्यस क्षेत्रमा सशस्त्रको टोली खटाउन लागेको हो । छाङरु भारतीय सीमाबाट एक किलोमिटरको दूरीमा पर्छ भने चीनको सीमा क्षेत्र १४ किलोमिटरको दूरीमा रहेको छ ।

पहिलो चरणमा सीमा निगरानी चौकीमा २५ जना सशस्त्र प्रहरी खटिने जनाइएको छ । सशस्त्र प्रहरी बल नेपाल ५० नम्बर गुल्मका प्रमुख सशस्त्र प्रहरी नायब उपरीक्षक डम्बरबहादुर विष्टकाअनुसार प्रहरी निरीक्षक मिलीबहादुर चन्दको नेतृत्वमा टोली पठाउने तयारी गरिएको छ । स्थानीयको घर भाडामा लिएर विओपी बस्ने तयारी गरिएको बताइएको छ ।

प्रकाशित समय १३:१७ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु