गृहपृष्ठ ‘महामारीका बेला भारतले हेप्यो, अब सहनु हुन्न’
‘महामारीका बेला भारतले हेप्यो, अब सहनु हुन्न’
सशस्त्रको बीओपी स्थापना भएको स्थान ।
नेपाली भूमि लिपुलेक, लिम्पियाधुरा क्षेत्र अतिक्रमण गर्दै भारतले वर्षैँदेखि आफ्नो सुरक्षा फौजसमेत राखिरहेको छ । सो क्षेत्रसमेत समेटेर भारतले गत मंसिरमा आफ्नो राजनीतिक नक्सा नै सार्वजनिक गर्यो । कोरोना महामारीका कारण विश्व नै आक्रान्त बनिरहेको बेला गत वैशाख २६ गते भारतले नेपाली भूमिमै तिब्बतको मानसरोवरसम्म जाने सडकको उद्घाटन गरेको थियो । त्यसलगत्तै नेपालमा चौतर्फी विरोध भइरहेको छ । नेपाल सरकारले पनि दार्चुलाको व्याँस गाउँपालिका- १, छाङरुमा केही दिनअघि सशस्त्र प्रहरीको सीमा निगरानी चौकी (बीओपी) स्थापना गरेको छ ।
नेपाली भूमि फिर्ता हुने आशा झिनो
भारतले अतिक्रमण गरेको भूमि फिर्ता हुनेमा भने स्थानीयलाई झिनो आशा पलाएको छ । दार्चुलाबाटै प्रतिनिधित्व गरेका प्रदेशसभा सदस्य मानबहादुर धामी नेपाली भूभाग फिर्ता नै हुन्छ भन्नेमा ढुक्क छैनन् । वर्षौँदेखि भारतले कब्जा गरेको जमिन फिर्ता गर्न निकै कठिन हुने प्रदेशसभा सदस्य धामी बताउँछन् । अहिले सरकारले भारतलाई कुटनीतिक नोट पठाउने र सीमानजिक सशस्त्र प्रहरी राख्ने विषय स्वागतयोग्य रहेको सत्तापक्षी दल नेकपाकै सांसद रहेका धामीको भनाइ छ ।
दार्चुलाको तवाघाटदेखि माथि तिब्बतको मानसरोवर पुग्ने सडक भारत सरकारले बनाइरहेको विषय यसअघि पनि चर्चामा नआएको भने होइन । तर खासै बहसको विषय भने बनेकोे थिएन । सो क्षेत्रमा भारतले नेपालको भूभाग मिच्न थालेको १९६२ देखिकै हो । सोही बेलादेखि भारतिय सेना लिम्पियाधुरामा बसेका सांसद धामी बताउँछन् ।
तावाघाटबाट माथि र धार्चुलाबाट तल दोहोरो रुपमा भारतले सडक निर्माण सुरु गरेको १३/१४ वर्ष बितिसकेको धामीले जानकारी दिए । सन् २०१५ मा भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी र चिनियाँ राष्ट्रपति सि जिङपिङबीच भएको सम्झौताअनुसार भारतले सडक निर्माण गरिरहेको हो । प्रदेशसभा सदस्य धामीले भने, ‘सडकले अझै पूर्णता पाएको छैन । कतिपय ठाउँमा ट्«याक खोल्न बाँकी छ । केही स्थानमा पुल बनेकै छैन,’ उनले भने ।
मातृभूमि मिचिएको विषयमामा नेपाल सरकार गम्भिर बन्नुपर्नेमा धामीको जोड छ । धामीले भने, ‘यो समस्या भारतबाट मात्रै समाधान हुने विषय होइन । चीन र भारतको सम्झौताअनुसार सडक निर्माण भइरहेको हुँदा दुवै देशसागको संवादबाट समस्या समाधान गर्नु उपयुक्त हुन्छ ।’
महामारीका बेला भारतले हेप्यो, अब सहनु हुन्न
नेपाल कम्युनिष्ट पार्टी नेकपाकै प्रदेशसभा सदस्य चुनकुमारी चौधरीले यस्तो महामारीका बेला भारतले सडक नै उद्घाटन गर्नुले छिमेकिसँगको भाइचारा नै नरहेको महसुस हुन थालेको बताइन् । देशमा भूकम्प गएका बेला नै नाकाबन्दी गरेर झन दुःख दिएको भारतको नियत ठिक नभएकाले अब भूमी फिर्ता गर्न सरकारलाई सबै नेपालीले साथ दिनु पर्ने उनको धारणा छ । ‘हामीले जसरी पनि हाम्रो भूमि फिर्ता गर्नुपर्छ । यस विषयमा सरकार गम्भिर बन्न आवश्यक छ,’ उनले भनिन् । सिमानामा काँडेतार लगाउनुपर्ने सांसद चौधरीको भनाइ छ ।
सरकारले अझै तदारुकता देखाएन
सुगौली सन्धिअनुसार लिम्पियाधुरा, कालापानी र लिपुलेकसहित काली (महाकाली) नदीको पूर्वक्षेत्र नेपाली भूभाग प्रष्ट भएको नेपाली पक्षको भनाइ छ । संवादको लागि नेपालले आग्रह गरिरहेकै बेला भारतले एकतर्फी रुपमा सडक बनाएपछि सडक र सदनमा भारतीय कदमको चर्को आलोचना भइरहेको छ ।
सुदूरपश्चिम प्रदेशसभामा प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले सरकारबाट हुनुपर्ने पहल नपुगेको आरोप लगाएको छ । सरकारले कुटनीतिक पहलबाट भूमि फिर्ता ल्याउन्ुपर्ने र भारतले नमाने सीमा अतिक्रमणको विषयलाई अन्तर्राष्ट्रियकरण गर्नुपर्ने प्रतिपक्षी दल नेपाली कांग्रेसका संसदीय दलका नेता डा. रणबहादुर रावलले बताए ।
सिमानामै नेपाली फौज नराखिएकोमा असन्तुष्टि
नेपाली भूमि नै मिचेर भारतले आफ्नो सुरक्षा फौज राखे पनि नेपालले भने सीमाभन्दा १८ किलोमिटवरै सीमा निगरानी चौकी (बीओपी) राखेको भन्दै प्रतिपक्षी दलले असन्तुष्टि व्यक्त गरेको छ । ‘यतिबेला सीमा रेखामै ठूलो उपस्थिति देखाउनुपर्ने सरकारले २५ जना सशस्त्र र ९ जना प्रहरी राखेको छ । यो के गर्न खोजेको हो ?’ दार्चुलाबाटै निर्वाचित प्रदेशसभा सदस्य नन्दा बमको प्रश्न छ ।
दार्चला- १ मा मुख्य बसोवास रहेको सौका समुदायले पनि नेपाली भूमि जुनसुकै हालतमा फिर्ता गर्नुपर्ने माग राखेको उनले सुनाइन् । भारतले सडक निर्माण गर्न थालेको वर्षौं भइसक्दा पनि नेपाल सरकार भने सुतेको उनको आरोप छ ।
भूमि फिर्ता नभए सडक आन्दोलन
अतिक्रमित नेपाली भूमि फिर्ता हुनुपर्ने भन्दै देशका अन्य स्थानमा जस्तै सुदूरपश्चिममा पनि प्रदर्शन भयो । सुदूरपश्चिम प्रदेशका नागरिकहरुले कुटनीतिक पहलबाट सरकारले भूमि फिर्ता ल्याउनुपर्ने माग राखेका छन् । विद्यार्थी नेता रमेश भट्टराइले वर्तमान सरकार भूमि फिर्ता गराउने विषयमा चुक्न नहुने धारणा राखे । यस मुद्दामा सरकारले वेवास्ता गरे अब युवा तथा विद्यार्थीहरु सडकमा आउने उनले बताए । सकेसम्म कुटनीतिक माध्यमबाटै भारतले अतिक्रमण गरेको नेपाली भूमि फिर्ता गर्नुपर्ने उनको जोड छ ।
प्रकाशित समय १५:३३ बजे

















