गृहपृष्ठ कविता : बुख्याचा शासक
कविता : बुख्याचा शासक
सत्ता, भत्ता र पत्तामा लिप्त सेनानीहरु !
महँगा विदेशी ब्रान्डका सौखिन,
वीरका कुलंगार सन्तानहरु !
घुम्ने कुर्सीमा विराजमान बुख्याचाहरु !
युवाको रगत पसिना बेचेरेर
आलिसान महलमा टांसिएका किर्नाहरु !
आमाको छातीमा विदेशी बुट बजारिँदा
टोलाइरहेका मतियारहरु !
न बोल्छन् देशको आवाज !
न सुन्छन् जंगे पिल्लरको चित्कार !
जीवित लासका थुप्राहरु
आफ्नो शिरलाई सगरमाथा ठान्ने
आफ्नो आसनलाई कैलाशसँग दाँज्ने
कुलीन व्यवस्थाका मसियाहरु !
बालुवाटार र सिंहदरबारमा बाँसुरी बजाई
हनुमान नचाउने अहंकारी बाजहरु !
वीरता र त्यागलाई सत्ताको खेलमा
च्याखे थाप्ने लेण्डुप दोर्जेहरु !
न बोल्छन् जनताको पक्ष !
न गर्छन् सिमानाको रक्षा !
बेलगाम दूषित विचारहरु
परिवारलाई जनता देख्ने
नातागोतालाई छिमेकी मान्ने
सुसारेहरुलाई श्रमिक ठान्ने !
आफ्नो आँगनलाई देश भन्ने
आफ्नै घेरबारलाई सिमाना ठान्ने
शीतल निवास र आइसिसीका ठालुहरु
न फेर्छन् देशको शासन !
न मान्छन् जनताको कासन !
देशलाई बन्धकमा राख्ने,
जनतालाई लिलाममा राख्ने
मुखमा ताल्चा ठोकेर
चेतनामा प्रतिबन्ध लगाउने
विचारको बलात्कार गर्ने नाइकेहरु
सत्यलाई पर्खालभित्र कैद गरेर
असत्यको हौवा फैलाउने
अत्यचारका पहरेदारहरु !
न बिझाउँछन् लाल झुपडीको पीडा !
न रिझाउँछन् लाल मान्छेहरुको क्रिडा !
देशको सार्वभौमिकता बेच्ने निर्लज्ज बादशाहहरु
दक्षिणको दक्षिणामा दिदीबहिनी बेच्ने
पश्चिमको पराक्रममा वेश्यालय खोल्ने
उत्तरको उत्कण्ठाले उत्तेजित हुने
पद प्रतिष्ठाको व्यापार गर्ने
नैतिकता र आदर्शको मोलतोलाई गर्ने
अति आदर्श कालाबजारी माफियाहरु
न जुटाउँछन् श्रमिकको गाँस !
न मेटाउँछन् सर्वहाराको प्यास !
इतिहासको व्याजले व्यवस्थाको फरिया सजाउने
जनतालाई कानुनी साङ्लोले बाँधेर
स्वाभिमान कुल्चिने कुलीन तानाशाहहरु
रुखको टुप्पोमा बसेर जरा काट्ने
रगतमा लत्पतिएका सुण्डमुसुण्डहरु !
बेलगाम घोडाझैं यात्रामा हिँडेका आततायी जत्थाहरु
न बनाउँछन् देशको सान !
न बचाउँछन् मातृभूमिको स्वाभिमान !
प्रकाशित समय १५:३४ बजे

















