गृहपृष्ठ बन्दाबन्दीमा चोरीशिकारी सक्रिय, ५ जरायो मारिए

बन्दाबन्दीमा चोरीशिकारी सक्रिय, ५ जरायो मारिए

गत चैत्र ११ गते बन्दाबन्दी लागू भएयता सुर्खेतको ऐतिहासिक क्षेत्र काँक्रेविहार जंगलमा पाँच वटा जरायो मारिएका छन् । जिल्ला वन डिभिजन कार्यालय सुर्खेतका प्रमुख गोविन्दप्रसाद दाहालका अनुसार यसअघि दुईवटा जरायो गोली लागेर मृत फेला परेको र दुईवटा घाईते अवस्थामा भेटिएका थिए ।

शनिबार पनि जंगलमा थप अर्को एउटा जरायो मृत फेला परेको डिभिजन प्रमुख दाहालले बताए । उक्त जरायोको पनि गोली लागेको र सिङ काटिएको अवस्थामा फेला परेको प्रमुख दाहालले जानकारी दिए ।

यसअघि घाईते भएका जरायोहरुको समेत उपचारको क्रममा मृत्यु भएको उनले बताए । ‘लकडाउनको मौका छोपी हतियार हुने स्थानीय बासिन्दाले नै जरायो मारेका हुनसक्छन्,’ उनले भने, ‘कोसँग हतियार छ भन्ने पत्ता लगाउन जिल्ला प्रशासनको सहयोग लिएर खोजी कार्य र छानबिन अगाडि बढाउँछौं ।’

जंगलमा चरन कम भएको र सुर्खेतको निकास क्षेत्रमा चरनको लागि जरायोहरु जाने गर्नाले स्थानीयले नै जरायो मार्ने गरेको हुनसक्ने उनले बताए । लकडाउन खुल्नेबित्तिकै सुरक्षाकर्मी तथा प्रशासनको सहयोगमा चोरीशिकारीमा संलग्नको खोजी र अनुसन्धान गरिने उनको भनाइ छ ।

कांक्रेबिहार जंगलमा तारजाली नभएको कारण चोरी शिकारी अत्याधिक बढेको डिभिजन प्रमुख दाहालले बताए । ‘यही वर्ष तारजाली गर्नको लागि सूचनासमेत निकालेका थियौं । लकडाउनको कारण रोकिएको छ,’ उनले भने । बन्दाबन्दी सकिएलगत्तै तारजारीको काम थालिने र यसका लागि २१ करोड रुपैयाँ विनियोजन भएको उनले जानकारी दिए ।

प्रकाशित समय १९:५५ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु