गृहपृष्ठ १ महिनामै बन्यो ५० शय्याकै कोरोना अस्पताल

१ महिनामै बन्यो ५० शय्याकै कोरोना अस्पताल

सुदूरपश्चिम प्रदेश सरकारले एक महिनामै कोरोना अस्पताल निर्माण गरेको छ । ५० बेड क्षमताको भवन निर्माण भएसँगै अब त्यसमा आवश्यक सामग्री राखेर संक्रमित आए सोही अस्पतालमा उपचार गरिने सामाजिक विकास मन्त्रालयले जनाइएको छ ।

मन्त्रालयको बजेटमा कैलाली र कञ्चनपुरमा निर्माण भइरहेको प्रि-फ्याव आइसोलेसन भवन सहितको अस्पतालको ठेक्का सम्झौताअनुसार धनगढीमा निर्माण सुरु भएको एक महिनामा भवनको काम सम्पन्न भएको हो । कोरोना विशेष अस्पताल तोकिएको सेती अस्पताल मातहत रहने गरी सुदूरपश्चिम प्रदेश सरकारले निर्माण गरेको प्रि-फ्याव भवनको काम वैशााख ३० गते सक्नुपर्ने थियो । सोसँगै १ दिन ढिलो वैशाख ३१ गते काम सम्पन्न भइसकेको स्वास्थ्य कार्यालय कैलालीले जनाएको छ ।

सेती अस्पतालमै कोरोनाका बिरामी राखेर उपचार हुँदा अन्य सेवा प्रभावित भएको थियो । अस्पताल परिसरमै कोरोना संक्रमितको उपचार हुन थालेपछि अन्य बिरामीसमेत त्रसित बनेका थिए । अब छुट्टै कोरोना अस्पताल बनेपछि उपचारमा धेरै सहज हुने चिकित्सकको भनाइ छ । कोरोना उपचारका लागि आवश्यक स्वास्थ्य उपकरण लगायतका समान सो भवनमै जडान गरिने सेती प्रादेशिक अस्पतालका मेडिकल सुपरिटेण्डेन्ट हेमराज पाण्डेयले जानकारी दिए ।

सामाजिक विकास मन्त्रालयले दुवै जिल्लामा प्रि-फ्याव सहितको कोरोना अस्पतालका लागि एक÷एक करोड बजेट उपलब्ध गराएको हो । महाकाली अस्पतालको प्रि-फ्याव भवन सहितको अस्पताल निर्माणका लागि ९२ लाखमा दिपेन बिल्डर्स प्रालि र धनगढीको आईसोलेसन भवनको ९४ लाख ६ हजारमा किनारा कन्ट्रक्सनसँग ठेक्का सम्झौता भएको थियो ।

प्रदेशका मुख्य अस्पताल सेती प्रादेशिक अस्पताल मातहत रहनेगरी सो भवनबाट कोरोनाका बिरामीको उपचार हुने सामाजिक विकासमन्त्री कृष्णराज सुवेदीले जानकारी दिए । सुदूरपश्चिममा हालसम्म ५ जना कोरोना संक्रमित भेटिएका छन् । उनीहरु सबै निको भएर घर फर्किसकेका छन् ।

प्रकाशित समय १९:१४ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु