गृहपृष्ठ कर्णालीमा लकडाउन अवधिभर ४२ आत्महत्या
कर्णालीमा लकडाउन अवधिभर ४२ आत्महत्या
सांकेतिक तस्बिर ।
लकडाउन अवधिभर कर्णाली प्रदेशमा ४२ जनाले आत्महत्या गरेका छन् । कर्णाली प्रदेश प्रहरी कार्यालय सुर्खेतका अनुसार कर्णालीका दशवटै जिल्लामा गरी ४२ आत्महत्याका घटना घटेका हुन् ।
यो अवधिमा झुण्डिएर ३४ जनाले आत्महत्या गरेका छन् भने विष सेवन गरेर ८ जनाले आत्महत्या गरेको प्रदेश प्रहरी कार्यालयका सूचना अधिकारी डीएसपी लोकनाथ तिमिल्सिनाले जानकारी दिए । उनका अनुसार आत्महत्या गर्नेमा सबैभन्दा बढी सुर्खेतका छन् । सुर्खेतमा १३ जनाले झुण्डिएर आत्महत्या गरेका छन् भने ४ जनाले लकडाउन अवधिभर विष सेवन गरेर आत्महत्या गरेका हुन् ।
त्यस्तै सल्यानमा ७ जनाले झुण्डिएर र ४ जनाले विष सेवनबाट आत्महत्या गरेको उनले बताए । दैलेखमा ८ जनाले झुण्डिएर आत्महत्या गरेको डीएसपी तिमिल्सिनाले बताए । त्यस्तै रुकुम पश्चिममा ४, जुम्लामा १ र डोल्पामा १ जनाले झुण्डिएर आत्महत्या गरेका हुन् । सामान्य अवस्थामा पनि आत्महत्याका घटनाको दर यस्तै अवस्था भए पनि लकडाउनको समयमा भने जघन्य अपराध बढेको तिमिल्सिनाले जानकारी दिए ।
उनका अनुसार यो अवधिमा जबर्जस्ती करणीका १७, कर्तव्य ज्यानका ३ वटा घटना घटेका छन् । त्यस्तै भवितव्य ज्यानका १४ घटना, ज्यानमार्ने उद्योगका ५, फुटकर ज्यानका ६, घरेलु हिंसाका १६, लागूऔषधका ४, सार्वजनिक शान्तिविरुद्धको कसुरका १० घटना घटेको तिमिल्सिनाले जानकारी दिए । ‘लकडाउनको ५०औँ दिनसम्मको तथ्यांक हेर्दा तुलनात्मक रुपमा अघिल्ला वर्षहरुभन्दा अपराधिक घटनाहरु बढेका छन्,’ उनले भने, ‘प्रहरीमा रहेको जनशक्ति लकडाउनमा लागेको छ । भएका जनशक्तिलाई परिचालन गरी अपराधिक घटना रोक्ने प्रयासमा छौं ।’
प्रहरी जनशक्ति लकडानमा लागेको र यही मौकामा जघन्य प्रकृतिका घटना घट्ने गरेको उनले बताए । तिमिल्सिनाका अनुसार गत २०७६ चैत्र ११ गतेदेखि २०७७ वैशाख ३१ सम्म कर्णाली प्रदेशभर विभिन्न प्रकृतिका जम्मा १३५ घटना घटेका छन् ।
प्रकाशित समय १९:१९ बजे

















