गृहपृष्ठ धनगढीमा अघोषित लोडसेडिङ, उपभोक्ता समस्यामा
धनगढीमा अघोषित लोडसेडिङ, उपभोक्ता समस्यामा
केही दिनयता सुदूरपश्चिममा गर्मी बढेको छ । गर्मी बढेसँगै विद्युतको माग उच्च हुने यो समयमा आपूर्ति भने नियमित छैन । मनपरी ढंगले विद्युत कटौती हुने गरेको छ । सर्वसाधारण गर्मीको मारमा परिरहेको बेला धनगढीमा भने अघोषित रुपमा लोडसेडिङ सुरु भएको छ । उपमहानगरपालिकासहित आसपासका क्षेत्रमा विद्युत आपूर्ति नियमित नहुँदा उपभोक्ताहरु हैरान छन् ।
दिनहुँ गर्मी बढिरहेको बेला निरन्तर लामो समयसम्म विद्युत आपूर्ति नहुँदा जनजीजन प्रभावित भएको छ । तर प्राधिकरणले समस्या समाधान गर्न भने सकेको छैन । हरेक वर्ष गर्मी मौसममा विद्युत खपत बढ्दा ट्रान्समिटर लगायतका उपकरणमा खराबी देखिने गरेको छ । प्राधिकरणले यस्तो समस्या समाधानका लागि पूर्वयोजना नबनाउँदा उपभोक्ताले हैरानी खेप्नुका साथै प्राधिकरणकै आम्दानी गुम्ने गरेको छ ।
लकडाउनको अवधिमा कलकारखाना लगायतमा विद्युत खपत नबढेको अवस्थामा दिनभरी बत्ती जाँदा समस्या सिर्जना भएको धनगढी ६ का डम्मर महतराले बताए । विद्युत कटौती भए वैकल्पिक उपकरणको समेत विक्री हुने हुँदा व्यापारीसँगको मिलेमतोमा अघोषित लोडसेडिङ गर्ने गरेको आरोपसमेत लाग्ने गरेको छ । सहरी क्षेत्रमा विद्युतीय उपकरणको बढ्दो प्रयोग भएका बेला हुने कटौतीले जनजीवन असहज बनाएको छ । विजुली आउने-जाने गर्दा विद्युतीय उपकरणमा समेत क्षति पुगेको उपभोक्ताहरुले गुनासो गर्दै आएका छन् ।
धनगढी वितरण केन्द्रले विभिन्न वहाना बनाएर विद्युत कटौती गर्दा गृहणी, विद्यार्थी, उद्योगी, व्यापारीहरुले समस्या झेल्नु परेको छ । पंखा, एसी, कुलर लगायतका उपकरण चलाउन नपाउँदा चर्को गर्मी कटाउन समस्या परिरहेको छ । गर्मीको समयमा काम गर्न र घरभित्र बस्न समस्या भएको स्थानीय सुरज चौधरीले बताए ।
झण्डै ५७ हजारभन्दा बढी उपभोक्ता भएको धनगढी वितरण केन्द्रमा यो समस्या बढी देखिएको छ । तर केन्द्रले लोड बढेका कारण विद्युत लाईनमा समस्या आएको बताउँदै आएको छ । विद्युत सेवा अनियमित हुँदा नेपाल विद्युत प्राधिकरणका कर्मचारीले फोन पनि नउठाउने र विद्युत बिग्रिएमा समयमै मर्मतमा ध्यान नदिएको स्थानीयको गुनासो छ ।
१ सय ३२ केभी राष्ट्रिय प्रसारणमा सिस्टमको समस्याले अत्तरियादेखि पूर्वक्षेत्रमा विद्युत अवरोध भएको प्राधिकरणको भनाइ छ । तर प्राधिकरणको धनगढी शाखाले भने विद्युत खपत बढेको र पहिलेदेखि नै धनगढी-अत्तरिया १ सय ३३ केभीको लाईनमा समस्या आएको वितरण केन्द्र प्रमुख सुरेन्द्र चौधरीले बताए । मर्मत कार्य भइरहेकाले समस्याको समाधान छिट्टै हुने उनको दावी छ ।
प्रकाशित समय २१:२४ बजे

















