गृहपृष्ठ नेपालसँग सीमा विवाद बढेपछि मोदीले गरे सुरक्षा निकायहरूसँग गोप्य छलफल
नेपालसँग सीमा विवाद बढेपछि मोदीले गरे सुरक्षा निकायहरूसँग गोप्य छलफल
भारतले अतिक्रमण गरेको भूमिलाई समेटेर नेपालले नयाँ नक्सा जारी गरी औपचारिक प्रयोगमा ल्याउन थालेपछि भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले सुरक्षा निकायहरूसँग औपचारिक छलफल थालेका छन् । नेपाली भूमि मिचिएको विषयमा वार्ताका लागि नेपाल सरकारले पटक‑पटक लिखित र मौखिक आग्रह गर्दा पनि बेवास्ता गरेका मोदीले मंगलबार सीमा क्षेत्रका विषयमा छलफल अघि बढाएको भारतीय सञ्चारमाध्यमले बताएका छन् ।
मोदीले मंगलबार राष्ट्रिय सुरक्षा सल्लाहकार (एनएसए) अजित डोभल, चिफ अफ डिफेन्स स्टाफ (सिडिएस) जनरल विपिन रावतलगायतसँग सीमा क्षेत्रका विषयमा बढेको विवादबारे छलफल गरेका हुन् । भारतीय सञ्चारमाध्यमले चीनको लद्दाखका विषयमा केन्द्रित भएर छलफल चलाएको दाबी गरे पनि दुवै देशसँगको सीमाका विषयमा मोदीले छलफल गरेको बुझिएको छ ।
एनएसए, सिडिएसलगायतसँगको छलफलमा मोदीले चीनसँगका विवादित सीमा क्षेत्र र नेपालको अतिक्रमित भूमिमा पूर्वाधार निर्माणका कामलाई वार्ता अघि बढे वा नबढे पनि निरन्तरता दिने बताएका थिए । नेपाल र चीनका रणनीतिक क्षेत्रहरूमा भारतले बनाइरहेका पूर्वाधारलाई निरन्तरता दिने विषयमा छलफल केन्द्रित भएको सरकारी स्रोतलाई उद्धृत गर्दै भारतीय सञ्चारमाध्यमले जनाएका छन् ।
छलफलमा नेपाल, चीन, पाकिस्तान, बंगलादेशलगायतसँगको सीमा विवादबाट कुरा भएको थियो । भारतको सबै छिमेकी देशहरूसँग सीमाका विषयमा विवाद छ । भारतको विस्तारवादी यही नीतिका कारण छिमेकी देशहरूसँग शत्रुता र कटुत बढिरहेको भन्दै भारतीयहरूले वार्ताका माध्यमबाट समस्या समाधानका लागि मोदीलाई आग्रह गरिरहेका छन् । तर, सीमा विवादभन्दा पनि अतिक्रमण गर्दै अघि बढेको भारतले वार्ताबाट कहिल्यै समाधानको पहल गर्ने गरेको छैन । वार्ताबाट समाधानको पहल खोज्दा पछि हट्नुपर्ने भएकाले भारतले बलमिच्याइँ गरिरहेको स्वयं भारतीय अधिकारीहरूले विभिन्न फोरममा बताउने गरेका छन् ।
सञ्चारमाध्यममा जनाइएअनुसार छलफलमा राष्ट्रिय सुरक्षा सल्लाहकार डोभलले लद्दाख, उत्तरी सिक्किम र उत्तराखण्डका पूर्वाधार निर्माणको अवस्थाका साथै नेपाल र चीनका गतिविधिबारे प्रधानमन्त्री मोदीलाई जानकारी गराएका थिए । भारतले नेपालको पश्चिमी सीमा लिपुलेक, लिम्पियाधुरा र कालापानी अतिक्रमण गरेको सडक निर्माण गरिरहेको छ । सो क्षेत्र भारतको उत्तराखण्ड प्रदेशसँग जोडिएको छ ।
लद्दाख क्षेत्रमा चीनले करिब ५ हजार जनमुक्ति सेना खटाएपछि भारतले पनि सीमा रक्षाका लागि सैनिक संख्या बढाएको छ । सिक्किमको सीमा क्षेत्र, लद्दाख र उत्तराखण्डमा भारत र चीनबीच टकरावको स्थिति आएको छ । सोमबार चिनियाँ सेनाले ढुंगामुढा गरेको भारतीय पक्षले आरोप लगाएको थियो ।
त्यसअघि मे ५ र ६ मा गलवान क्षेत्रमा चिनियाँ र भारतीय सेनाबीच हात हालाहाल नै भएको थियो । त्यसपछि नै लद्दाखमा चिनियाँ जनमुक्ति सेनाले हवाई अड्डा विस्तार गरेको थियो । मंगलबारको विशेष छलफलमा रक्षामन्त्री राजनाथ सिंह, सेना प्रमुख एमएम नरभानेलगायतको पनि सहभागिता थियो ।
प्रकाशित समय १०:२५ बजे

















