गृहपृष्ठ त्रिनगर नाकाबाट २ दिनमा ९ हजार जना नेपाल प्रवेश, पर्याप्त छैन क्वारेन्टिन
त्रिनगर नाकाबाट २ दिनमा ९ हजार जना नेपाल प्रवेश, पर्याप्त छैन क्वारेन्टिन
लकडाउनका कारण भारतमा रोजगारी गुमेका नेपालीहरु धमाधम स्वदेश फर्किन थालेपछि सुदूरपश्चिम प्रदेशमा क्वारेन्टिन अभाव हुने देखिएको छ । प्रदेशमा करिब २४ हजार क्षमताको क्वारेन्टाइन बनाइएका छन् । तर दिनानुदिन हजारौँ नेपालीहरु भित्रिन थालेपछि उपलब्ध क्वारेन्टिन अपर्याप्त हुने देखिएको हो ।
करिब ४५ दिन भारतको क्वारेन्टिन तथा विभिन्न सहरमा अलपत्र रहेका नागरिकहरुलाई जेठ १ र २ गते कैलालीको त्रिनगर नाकाबाट उद्धार गरिएको थियो । त्यसलगत्तै हुलका हुल नेपालीहरु आइपुगेपछि सीमा क्षेत्रमा रहेका भारतीय क्वारेन्टिन नै भरिभराउ बनेका थिए । ती क्वारेन्टिनहरुले धान्ने अवस्था नभएपछि भारतीय प्रशासनले नेपालीहरुलाई नेपालतर्फ पठाउन थालेको थियो । सीमा नाका आसपास अलपत्र परेका नेपालीहरुको स्थानीय प्रशासन तथा जनप्रतिनिधिले उद्धार गरिरहेका छन् ।
कैलालीको त्रिनगर नाकाबाट मात्रै हालसम्म २३ हजारभन्दा बढी नागरिक नेपाल भित्रिएका छन् । दैनिक हजारौँको संख्यामा आइरहेका नेपालीहरुलाई अनिवार्य क्वारेन्टिनमा बस्नुपर्ने नियम लगाएको छ । तर अब भने क्वारेन्टिन अभाव हुन लागेको छ । प्रदेशभरी १७ हजारभन्दा बढी नागरिक क्वारेन्टिनमा छन् । केही अझै आउने क्रममा बाटोमै पनि छन् । त्यसैले तत्काल क्वारेन्टिनको क्षमता बढाउन स्थानीयवासीको माग छ ।
त्रिनगर नाकाबाट ५ गतेपछि भित्रिने नेपालीको हुललाई व्यवस्थापन गर्नै कठिन भएको छ । मंगलबार र बुधबार मात्रै त्रिनगर नाकाबाट साढे ९ हजार नेपाली स्वदेश भित्रिएको तथ्यांक छ । उनीहरुलाई विभिन्न संघ-संस्था तथा जनप्रतिनिधिको सहयोगमा सम्बन्धित स्थानीय तहतर्फ पठाइरहेको जिल्ला प्रशासन कार्यालय कैलालीका सूचना अधिकारी शिवराज जोशीले बताए ।
सुदूरपश्चिममा पहिले १० हजार क्षमताको क्वारेन्टिन निर्माण गरिएको थियो । पछि थपेर २४ हजारभन्दा बढी क्षमता विस्तार गरिएको छ । त्यसले पनि अबको चापलाई धान्न नसक्ने देखिएपछि प्रदेश सरकार क्वारेन्टिनको क्षमता बढाउने योजनामा छ । स्थानीय तहलाई थप बजेट दिएर भए पनि क्वारेन्टिनको क्षमता बढाउनेतर्फ प्रदेश सरकार केन्द्रित भएको आन्तरिक मामिला तथा कानुनमन्त्री प्रकाशबहादुर शाहले बताए ।
प्रदेशभर हालसम्म २१ हजार आरडीटी र ५ हजार ३ सय ९ पीसीआर परिक्षण गरिएको छ । यसमध्ये २० जनामा कोरोना पोजेटिभ देखिएको छ । हालसम्म ५ जना निको भइसकेका छन् । बाँकी विभिन्न अस्पतालमा उपचाररत छन् ।

प्रकाशित समय १२:१५ बजे

















