गृहपृष्ठ जनताप्रतिको जिम्मेवारी पूरा गर्न सबै दल एक ठाउँमा उभिएर राष्ट्रिय अठोट गर्न आवश्यक

जनताप्रतिको जिम्मेवारी पूरा गर्न सबै दल एक ठाउँमा उभिएर राष्ट्रिय अठोट गर्न आवश्यक

फाइल तस्बिर।

प्रतिनिधिसभा बैठकमा प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले जनताप्रतिको जिम्मेवारी पूरा गर्न सबै दल एक ठाउँमा उभिएर राष्ट्रिय अठोट गर्नुपर्ने आवश्यकता रहेको औँल्याएको छ । विनियोजन विधेयकमाथिको छलफलमा भाग लिँदै कांग्रेसका डा. मीनेन्द्रप्रसाद रिजालले जनताप्रतिको जिम्मेवारी पूरा गर्न सबै राजनीतिक दल एक ठाउँमा बस्नाको विकल्प नरहेको बताए ।

कोभिड- १९ बाट प्रभावित मुलुकमा त्यसको असर कम गर्न सरकारले ध्यान दिन नसकेको आरोप लगाउँदै रिजालले भने, ‘म अझै भन्छु, सँगै बसौँ । काम गरौँ । जनताप्रतिको जिम्मेवारी पूरा गरौँ, अहिलेको अवस्थामा सबै एक ठाउँमा उभिएर एउटा राष्ट्रिय अठोट गर्नुपर्ने आवश्यकता छ ।’
सदनमा विनियोजन विधेयकमाथि खर्च कटौतीको प्रस्ताव प्रस्तुत गर्दै डा. रिजालले सरकारमा पूँजीगत खर्च गर्न सक्ने क्षमता र योजना नभएको जिकिर गरे । उनले अर्थ मन्त्रालयको चालू खर्च २५ अर्ब रूपैयाँबाट घटाएर गत वर्षझैँ आठ अर्बमा सीमित पार्न भनेर प्रस्ताव प्रस्तुत गरे ।

सीमाबाट एक जनामा कोभिड- १९ देखियो भने स्थिति भयावह हुने अवस्था रहेकाले त्यसको कल्पना गर्ने अवस्था नरहेकोतर्फ उनले ध्यानाकर्षण गराए । अर्थतन्त्र गम्भीर अप्ठ्यारोमा पर्छ भने हामीले साना-साना कुरामा छलफल नगरी संकल्प प्रस्ताव पारित गरेर पछि पूरक बजेट ल्याउन आग्रह गर्दा सरकारले नमानेको जनाउँदै बजेटले जनतालाई राहत दिन नसक्ने उनले तर्क गरे ।

अर्थतन्त्र संकुचित हुँदै गएको अवस्थामा विप्रेषणमा २० प्रतिशत कम आउने देखिएको र खर्चयोग्य आम्दानी पाँच प्रतिशतले घट्ने चिन्ता रहेको बताउँदै डा. रिजालले असार मसान्तसम्मको राजस्वसमेत अनुमान गर्न नसकेका बेला सरकारले अर्काे वर्षको बजेट प्रस्तुत गर्नु निरर्थक भएकाे बताए । यही जेठ २२ गतेसम्म सरकारको आम्दानी जोड्दा ६८६ अर्ब र खर्च ८३१ अर्ब पुगेको तथा दुई दिन अघिसम्म आम्दानीभन्दा १४५ अर्ब रूपैयाँ खर्च बढी भइसकेको सन्दर्भ जोड्दै डा. रिजालले आउने दिन अझै कठिनाइपूर्ण बन्ने जिकिर गरे ।

कोभिड- १९ को संक्रमणसँग लड्न एक डेढ महिनाभित्र १०/१२ अर्ब रूपैयाँभन्दा घटीले नपुग्ने अवस्था रहेको जनाउँदै उनले बजेट स्वास्थ्यमा केन्द्रित गर्नुपर्नेमा जोड दिए । उनले राष्ट्रिय गौरवको आयोजना पूरा गर्न सक्ने क्षमता नरहेको विगतका उदाहरणले स्पष्ट पारिसकेको बताए ।

विनियोजन विधेकमाथिको छलफलमा खर्च कटौतीको प्रस्ताव राख्दै राष्ट्रिय जनमोर्चाका दुर्गा पौडेलले देशको समग्र विकासका लागि सन्तुलित र विकेन्द्रित रुपमा बजेट विनियोजन हुन नसकेको भनी चिन्ता प्रकट गरिन् । उनले बजेटले व्यवस्थित रोजगारका प्याकेज ल्याउन नसकेको, वन विनाश रोक्ने विषयलाई सम्बोधन गर्न नसकेको तथा ढुंगा, गिटी बालुवा निकासी रोक्न तथा चुनाखानीलाई व्यवस्थित गर्न नसकेको भनी सरकारको ध्यानाकर्षण गराइन् । उनले कोभिड- १९ ले ध्वस्त पारेको पर्यटन क्षेत्रलाई माथि उकास्न सरकारले उपयुक्त कार्यक्रम ल्याउन नसकेको आरोप पनि लगाइन् ।

मुलुकलाई आत्मनिर्भर बनाउन उद्योगको कुनै योजना नभएको आरोप लगाउँदै उनले उद्योग, व्यापारको विकास र संरक्षणमा ठोस नीति ल्याउन माग गरिन् । रोगको उपचार र क्वारेन्टिनको पर्याप्त व्यवस्था गर्नसमेत उनले सरकारसँग माग गरिन् । महामारी बढेमा रोक्नका लागि आवश्यक तयारी गर्न समेत पौडेलले सरकारलाई सुझाव दिइन् ।

एमसीसी खारेजी माग

नेपाल मजदूर किसान पार्टीका प्रेम सुवालले अमेरिकी सहयोग एमसीसी सम्झौता अविलम्ब खारेज गर्न माग गरे । कोभिड- १९ को प्रत्यक्ष असर पुगेका मजदूर तथा किसानलाई उचित क्षतिपूर्ति दिन तथा भक्तपुरलाई सांस्कृतिक नगर घोषणा गर्न उनले माग गरे ।

समाजवादी पार्टीका प्रदीप यादवले आव २०७७/७८ को बजेटमा उल्लेख भएअनुसारको खर्च कटौतीको प्रस्ताव प्रस्तुत गर्दै प्रदेश नं २ लाई छुट्याइएको रकम सामान्यीकरण अनुदानमा दुई अर्ब थप गर्न माग गरे । यस्तै सोही प्रदेशको समपूरक अनुदानको शीर्षकअन्तर्गत एक अर्ब ५० करोड थप्न उनले आग्रह गरे ।

प्रकाशित समय १४:१८ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु