गृहपृष्ठ जनप्रतिनिधिलाई संक्रमण पुष्टि भएपछि नगरपालिकाको अत्यावश्यक बाहेकका सेवा बन्द

जनप्रतिनिधिलाई संक्रमण पुष्टि भएपछि नगरपालिकाको अत्यावश्यक बाहेकका सेवा बन्द

सुदूरपश्चिम प्रदेशमा पहिलोपटक जनप्रतिनिधिलाई पनि कोरोना संक्रमण  पुष्टि भएको छ । कैलालीको गोदावरी नगरपालिकामा शुक्रबार एक जनामा कोरोना पुष्टि भएकोमा उनी जनप्रतिनिधि रहेको खुलेको हो ।

सेती प्रादेशिक अस्पतालमा गरिएको परीक्षणमा गोदावरी नगरपालिकाका ४१ वर्षीय पुरुषमा संक्रमण पुष्टि भएको थियो । उनको जेठ २० गते स्वाब संकलन गरिएको थियो । आरडीटी पोजेटिभ देखिएपछि उनलाई छुट्टै राखिएको थियो । यसअघि सुदूरपश्चिममा एम्बुलेन्स चालक, स्वास्थ्यकर्मी, सरकारी कर्मचारीमा पनि कोरोना पुष्टि भइसकेको छ ।

जनप्रतिनिधिमा नै कोरोना संक्रमण देखिएपछि नगरपालिकाले अत्यावश्यक बाहेकका सबै सेवा बन्द गरेको छ । नगरपालिकाले शनिबार एक सूचना जारी गर्दै स्वास्थ्य र सरसफाई बाहेकका सम्पूर्ण कामहरु बन्द गरेकाे बताएको हाे । नगरपालिकाका प्रमुख प्रशासकिय अधिकृत खेमराज विष्टद्वारा जारी सूचनामा नगरपालिकामा पनि कोरोनाको संक्रमण बढ्दै गएकाले आईतबारदेखि अर्को सूचना जारी नभएसम्म अत्यावश्यक बाहेकका सबै सेवा बन्द रहने उल्लेख छ ।

‘यो विषम परिस्थितिमा सबैले आ-आफ्नो ठाउँमा उच्च सतर्क रही जिम्मेवारी बहन गरी सुरक्षित र अनुशासित रुपमा रहनु हुन हार्दिक अनुरोध गरिन्छ,’ सूचनामा भनिएको छ, ‘यस समयमा सबै नगरवासीको सकारात्मक साथ र सहयोगको अपेक्षा गर्दछौ ।’

प्रकाशित समय २०:१२ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु