गृहपृष्ठ विदेशमा रहेका र फर्किएका प्रदेशवासीको तथ्यांक संकलन सुरू

विदेशमा रहेका र फर्किएका प्रदेशवासीको तथ्यांक संकलन सुरू

प्रदेश १ सरकारले कोरोनाभाइरस (कोभिड- १९)का कारण विदेशमा रहेका, स्वदेश फर्किन चाहेका र स्वदेश फर्किएका आफ्नो प्रदेशका नागरिकहरुको अनलाइनबाट तथ्यांक संकलन सुुरु गरेको छ । उक्त तथ्यांक संकलन गर्ने फारमको मुख्यमन्त्री शेरधन राईले मंगलबार उद्घाटन गरे ।

कोभिड- १९ ले उत्पन्न गराएको विषम परिस्थितिका कारण वैदेशिक रोजगारीमा रहेका नेपाल फर्किन प्रतिक्षारत र फर्किएका प्रदेश १ नागरिकहरुको तथ्यांक संकलन गर्न प्रदेश सरकारले अनलाइन फारम भर्ने व्यवस्था मिलाएको हो । गत जेठ ५ गतेको मन्त्रिपरिषद्को बैठकले विदेशमा रहेका प्रदेशका नागरिकहरुको अनलाइन फारम तयार गरेर तथ्यांक संकलन गर्ने निर्णय गरेको थियो ।

उक्त तथ्यांक प्रदेश सरकारले तयार पारेको वेबसाइट https://helpline.p1.gov.np/ मा गएर सिधै भर्न सकिन्छ । यो फारम प्रदेश योजना आयोगमा रहनेछ । यो फारमले आफ्ना नागरिकहरुको सीप र दक्षताको पहिचान गरी त्यसलाई प्रयोगमा ल्याउन मद्दत पुग्ने मुख्यमन्त्री राईले बताए ।

‘विदेशबाट फर्कन चाहेका, फर्किएका युवाहरुको सीपलाई हाम्रो प्रदेशको विकासमा लगाउन चाहन्छौं । तथ्यांक संकलन हुने फारममा युवाहरुको रुचिका आधारहरु पत्ता लगाउन सजिलो हुनुका साथै प्रदेश सरकारले ल्याएको नीति तथा कार्यक्रममा जोड्न सजिलो हुने विश्वास लिएका छौं,’ उनले भने । विदेशबाट रोजगारी गुमाएर फर्किएका युवाहरुलाई उद्यममा जोड्न प्रदेश सरकार लागिपरेको मुख्यमन्त्री राईको भनाइ छ ।

तथ्यांक संकलनले विषयगत क्षेत्र पत्ता लगाउँदै युवाहरुलाई रोजगारी उपलब्ध गराउन सहज हुने प्रदेश योजना आयोगका उपाध्यक्ष सुवोधराज प्याकुरेलले बताए । तथ्यांक संकलनका आधारमा संरचना एवं कार्यविधि बनाएर अगाडि बढ्नका लागि जिल्ला समन्वय समितिमा डेस्क बनाउने उनको भनाइ छ । यो अनलाइन तथ्यांक फारममा व्यक्तिगत विवरण, योग्यता, ठेगाना, विदेशमा कार्यरत ठेगानालगायत केही प्रश्नहरु समेत राखिएका छन् ।

प्रकाशित समय १३:२१ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु