गृहपृष्ठ सरकार, बैंकिङ क्षेत्र र सर्वसाधारणलाई नेपाल क्लियरिङ हाउसको ३ करोड सहयोग
सरकार, बैंकिङ क्षेत्र र सर्वसाधारणलाई नेपाल क्लियरिङ हाउसको ३ करोड सहयोग
नेपाल क्लियरिङ हाउस लिमिटेड (एनसीएचएल)ले सरकार, बैंकिङ क्षेत्र र सर्वसाधारणलाई करिब तीन करोड रूपैयाँ सहयोग गरेको छ । एनसीएचएलले महामारीको समयमा सबै किसिमका भुक्तानी सेवामा लाग्ने कारोबार शुल्क मिनाहा, आफ्नो प्ल्याटफर्ममार्फत क्राउड फन्डिङ र कोरोना नियन्त्रण तथा उपचार कोषमा गरी २ करोड ९१ लाख २० हजार रुपैयाँ सहयोग गरेको हो ।
एनसीएचएलले लकडाउन सुरू भएदेखि नै डिजिटल भुक्तानीलाई प्रश्रय दिने उद्देश्यका साथ एनसीएचएल-इसीसी, एनसीएचएल-आईपीएस, कनेक्ट आईपीएस, एनपीआई र कनेक्ट आरटीजीएस सेवा प्रवाह गर्दै आएको छ । लकडाउन सुरु भएदेखि हालसम्म एनसीएचएलले भुक्तानी सेवामा लाग्ने २ दुई करोड ३४ लाख ९ हजार २४३ रूपैयाँ कारोबार शुल्क मिनाहा गरेको जनाएको छ ।
त्यस्तै कम्पनीले कनेक्ट आईपीएस प्रणालीमा ‘डोनेट फर कज’का रुपमा समावेश गरी त्यसबाट हालसम्म ‘नेपाल सरकारको कोरोनाभाइरस नियन्त्रण र उपचार कोष’मा ४० लाख १९ हजार ४४८ रुपैयाँ संकलन गरेको छ । साथै, एनसीएचएलले सामाजिक उत्तरदायित्वअन्तर्गत सरकारको कारोना उपचार कोषमा १७ लाख रुपैयाँ सहयोग गरेको छ । यसमध्ये केन्द्र सरकारको कोरोना उपचार कोषमा १० लाख र सातै प्रदेशको कोषमा एक/एक लाख रुपैयाँ सहयोग प्रदान गरिएको हो ।
प्रकाशित समय १३:०९ बजे

















