गृहपृष्ठ संविधान संशोधन विधेयक प्रमाणीकरण, कालापानी सहितको भूभाग अब निशान छापमा
संविधान संशोधन विधेयक प्रमाणीकरण, कालापानी सहितको भूभाग अब निशान छापमा
राष्ट्रपति विद्यादेवी भण्डारीले संघीय संसद्को दुवै सदनबाट पारित भएको ‘नेपालको संविधान (दोस्रो संशोधन) विधेयक २०७७’ बिहीबार प्रमाणीकरण गरेकी छन् । नेपालको संविधानको धारा २७४ को उपधारा १० बमोजिम प्रमाणीकरणका लागि पेश भएको विधेयक प्रमाणीकरण गरिएको राष्ट्रपति कार्यालयका प्रवक्ता हरिप्रसाद दाहालले विज्ञप्तिमार्फत जानकारी दिए ।
संसदमा सो विधेयक दर्ता भएको २८औं दिनमा अभूतपूर्व राष्ट्रिय एकतासहित बिहीबार संशोधन प्रक्रियाले पूर्णता पाएको हो । विधेयक बिहीबार नै राष्ट्रियसभाले सर्वसम्मत पारित गरेर फिर्ता पठाएपछि सभामुख अग्निप्रसाद सापकोटाले तत्कालै प्रमाणित गरी राष्ट्रपति कार्यालय पठाएका थिए । सो विधेयक प्रतिनिधिसभाबाट गत जेठ ३१ गते र राष्ट्रियसभाबाट आज दुईतिहाइ बहुमतबाट पारित भएको थियो ।

राष्ट्रपति भण्डारीले प्रमाणीकरण गरेसँगै लामो समयदेखि नेपालको नक्साबाट हराएको कालापानी सहितको नेपाली भूभाग संविधानमै समेटिन पुगेको छ । नक्सालाई संविधानको अनुसूची- ३ मा रहेको नेपालको राष्ट्रिय चिन्हमा समावेश गर्न सरकारले जेठ ९ गते प्रतिनिधिसभा सचिवालयमा संविधान विधेयक पेश गरेको थियो । त्यसअघि जेठ ७ गते सरकारले भारतले अतिक्रमणमा गरेको भूभाग समेटेर राजनीतिक तथा प्रशासनिक नक्सा जारी गरेको थियो ।

प्रकाशित समय १८:५५ बजे

















