गृहपृष्ठ भारत-चीन सीमा विवाद : शान्तिपूर्ण रूपमा समाधान निकाल्न नेपालको सुझाव
भारत-चीन सीमा विवाद : शान्तिपूर्ण रूपमा समाधान निकाल्न नेपालको सुझाव
छिमेकी मुलुकहरू भारत र चीनबीचको सीमा विवादलाई लिएर नेपालले प्रतिक्रिया दिएको छ । शनिबार परराष्ट्र मन्त्रालयले विज्ञप्ति जारी गर्दै विवादको शान्तिपूर्ण रूपमा समाधान निकाल्न दुई छिमेकी मुलुकलाई सुझाव दिएको हो ।
नेपालले असल छिमेकीको भावना देखाएर चीन र भारत अगाडि बढ्नुपर्ने बताएको छ । ‘असल छिमेकीको भावनाका आधारमा आपसी मतभेदलाई द्विपक्षीय, क्षेत्रीय र विश्व शान्तिको पक्षमा शान्तिपूर्ण माध्यमबाट अहिलेको विवाद समाधान गर्नेछन्’, परराष्ट्रले भनेको छ, ‘नेपाल सधैँ क्षेत्रीय र विश्व शान्तिको पक्षमा छ । दुवै छिमेकीले अहिलेको समस्या पनि शान्तिकै माध्यमबाट समाधान गर्ने विश्वास लिएका छौं ।’
नेपालले गलवान उपत्यकामा करिब ५५ वर्षपछि भएको रक्तपातपूर्ण झडपपछिको अवस्थालाई नजिकबाट नियालिरहेको जनाउँदै दुवै देश अहिलेका समस्या समाधानमा सक्षम रहेको पनि जनाएको छ ।
भारत-चीनका सैनिकबीच लद्दाखको गलवान उपत्यकामा गत सोमबार राति भएको भिडन्तको कर्णेलसहित २० भारतीय सैनिकको ज्यान गएको थियो ।

प्रकाशित समय २०:११ बजे

















