गृहपृष्ठ कोरोनासँग जुध्न आहार, व्यायाम र उच्च मनोस्वास्थ्य महत्वपूर्ण : प्रधानमन्त्री

कोरोनासँग जुध्न आहार, व्यायाम र उच्च मनोस्वास्थ्य महत्वपूर्ण : प्रधानमन्त्री

प्रधानमन्त्री केपी शर्मा ओलीले कोरोना भाइरसको महामारीसँग जुध्न औषधीय गुणयुक्त आहार, व्यायाम र उच्च मनोस्वास्थ्य महत्वपूर्ण विषय रहेको बताएका छन् । छैटौँ अन्तर्राष्ट्रिय योग दिवसका अवसरमा शनिबार शुभकामना सन्देश जारी गर्दै प्रधानमन्त्री ओलीले योग र वानस्पतिक औषधीय वस्तुको प्रयोगमा जोड दिएमात्र निरोगी नेपालको उद्देश्य पूरा गर्न सक्ने बताए ।

उनले समृद्ध नेपाल सुखी नेपालीे सरकारको राष्ट्रिय आकांक्षा रहेकाले त्यो पूरा गर्ने आधारका रुपमा शारीरिक एवं मानसिक रुपले स्वस्थ्य र निरोगी नागरिक हुनुपर्ने बताए । प्रधानमन्त्री ओलीले योग साधना र अभ्यासलाई आफ्नो जीवनशैली बनाएर आरोग्य प्राप्त गर्न सबैमा आह्वानसमेत गरे ।

सन्देशमा उनले योग साधना हाम्रो प्राचीन सभ्यताको मौलिक उपज रहेको भन्दै मानसिक अन्तर्यात्रामार्फत शारीरिक तथा मानसिक स्वास्थ्यको अध्ययन गर्ने योग शास्त्रको महत्व आधुनिक युगमा झनै मुखर भइरहेको बताए ।

‘तनाव, अवसाद, द्वेष, ईर्स्या र निन्दाका दुष्प्रभावबाट मुक्त गर्दै समाजलाई स्वस्थ, खुशी र सकारात्मक मनोचेतनाले दोर्‍याउन योग मानवीय जीवनको अंग बन्नु आवश्यक छ,’ सन्देशमा उनले भनेका छन्, ‘योगको महत्वका बारेमा जनचेतना अभिवृद्धि गर्ने र यसका सरल विधिहरुको जनसाधारणमा पहुँच पुर्‍याउने काममा दिवसलाई सबै तह र क्षेत्रले सार्थक बनाउनु पर्दछ ।’

योग हाम्रो प्राचीन ज्ञान शास्त्रको महत्वपूर्ण विधा हो र यसले मानिसको शरीर, मन र कर्मलाई एकै स्थानमा अवस्थित गर्ने भन्दै सन्देशमा उनले मन, शरीर र कर्मको दूरी हटाई एकाग्रता प्रदान गर्नु योग भएको बताएका छन् ।

प्रधानमन्त्रीले योग साधनाले तनाव व्यवस्थापनमा सघाउँछ र मानव जीवनलाई स्वस्थ्य र नैतिकवान् बनाउन मद्दत पुर्‍याउने बताए । यहाँका वनस्पतिमा रहेको यौगिक प्रभावकारिताबारे आधुनिक विज्ञानका सोध ग्रन्थहरुमा पनि चर्चा गरेको उल्लेख गर्दै सन्देशमा उनले प्राच्य दर्शनमा अपनाइएको योग पद्धतिलाई आजको आधुनिक मेडिकल विज्ञानले पनि स्वीकार गरिसकेको बताए ।

सन् २०१५ बाट संयुक्त राष्ट्र संघले अन्तर्राष्ट्रिय योग दिवस मनाउन सुरु गरेपछि संसारभर जुन २१ लाई योग दिवसका रुपमा मनाइँदै आएको छ ।

प्रकाशित समय २०:०३ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु