गृहपृष्ठ आईजीपी ज्ञवालीद्वारा मोलेकुलर परीक्षण इकाई उदघाटन

आईजीपी ज्ञवालीद्वारा मोलेकुलर परीक्षण इकाई उदघाटन

प्रहरी महानिरीक्षक (आईजीपी) ठाकुर प्रसाद ज्ञवालीले नेपाल प्रहरी अस्पताल महाराजगंजमा कोरोना भाइरस(कोभिड- १९)को पीसीआर परीक्षण सञ्चालनका लागि स्थापना गरिएको मोलेकुलर परीक्षण इकाईको मंगलबार उदघाटन गरेका छन् । उक्त अवसरमा आईजीपी ज्ञवालीले मोलेकुलर परीक्षण इकाई स्थापना गर्न उत्कृष्ठ कार्य गर्ने ८ जना प्रहरी अधिकृत तथा जवानलाई पुरस्कार वितरणसमेत गरे ।

कार्यक्रममा आईजीपी ज्ञवालीले लकडाउन कार्यान्वयन तथा कोरोना संक्रमण रोकथामको लागि अग्रपंक्तिमा खटिएका प्रहरी कर्माचारीहरु संक्रमणको जोखिम उच्च रहेको उल्लेख गर्दै नेपाल प्रहरी अस्पतालले सञ्चालन गर्ने गरी इकाईको स्थापना हुनु सबैको लागि सुखद कुरा भएको बताए ।

उनले पीसीआर ल्याबबाट अधिकभन्दा अधिक प्रहरी कर्माचारीहरु लाभान्वित हुने विश्वास व्यक्त गरे । साथै छोटो समयमा इकाईको स्थापना गर्न देखाएको तदरुकताका लागि नेपाल प्रहरी अस्पताल परिवारप्रति उनले आभार व्यक्त गरे । प्रहरी कर्माचारीहरु कोरोनाबाट संक्रमित हुनबाट बच्न समयमा नै सजग हुनुपर्नेमा उनले जोड दिए ।

कार्यक्रममा अस्पतालकी मेडिकल डाइरेक्टर एआईजी डा. आशा सिंहले इकाईसम्बन्धी प्रतिवेदन प्रस्तुत गरेकी थिइन् । सो क्रममा उनले नेपाल प्रहरी अस्पताललाई समयानुकूल स्रोत र साधनसम्पन्न बनाउँदै स्वास्थ्य क्षेत्रमा आएको नबिनतम् प्रविधि र पद्दतिलाई अंगीकार गरी स्वास्थ्य वातावरण तथा बिरामीमैत्री सेवा प्रदान गर्ने र उन्नत अस्पतालको रुपमा विकास गर्न कटिवद्ध रहेको बताइन् । उक्त इकाई कुल १ करोड १९ लाख ३९ हजार रुपैयाँको लागतमा स्थापना गरिएको रतत्काल संचालनमा आउने उनले जानकारी दिइन् ।

प्रकाशित समय १८:४१ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु