गृहपृष्ठ पत्रकार तेजु खड्का हत्याको छानबिन गर्न माग
पत्रकार तेजु खड्का हत्याको छानबिन गर्न माग
नेपाल पत्रकार महासंघले डोटी शाखाका सदस्य एवं बाजुरास्थित रेडियो बूढीनन्दामा कार्यरत पत्रकार तेजबहादुर खड्का हत्याको छानबिन गर्न सरकारसँग माग गरेको छ ।
महासंघका महासचिव रमेश विष्टले आज विज्ञप्ति जारी गर्दै घटनाको अनुसन्धान र सत्यतथ्य छानबिन गरी पत्रकार खड्काका परिवारलाई राहत र उचित क्षतिपूर्तिको व्यवस्था गर्न माग गर्नुभएको हो । महासङ्घले पेशागत कर्म निर्वाहमा हिँडेका पत्रकार खड्का एक्कासि बेपत्ता हुनु र १५ महिनापछि कंकालसँगै फेला परेका सामग्री लामो समयपछि पनि दुरूस्तै देखिनुले घटना रहस्यमय हुनसक्ने भएकोले छानबिन गर्न माग गरिएको उनले बताए ।
बाजुरास्थित बूढीनन्दा तीर्थस्थलबाट फर्किने क्रममा २०७५ भदौ ९ गतेदेखि सम्पर्कविहीन रहेका पत्रकार खड्काको २०७६ मङ्सिरमा झोलासँगै पर्स र कंकाल भेटिएपछि नेपाल प्रहरीको केन्द्रीय विधि विज्ञान प्रयोगशालामा डिएनए परीक्षण गर्दा सो कंकाल पत्रकार खड्काको नै भएको प्रहरीले पुष्टि गरेको हो ।
प्रकाशित समय १५:३३ बजे

















