गृहपृष्ठ असुरक्षितलाई मुख्यमन्त्री कार्यक्रम बन्यो सारथि

असुरक्षितलाई मुख्यमन्त्री कार्यक्रम बन्यो सारथि

प्युठान नगरपालिकामा प्रधानमन्त्री रोजगार कार्यक्रमअन्तर्गत ५१० जनालाई रोजगार

प्युठानको मल्लरानी गाउँपालिका वडा नं ४ भन्ज्याङकी सुजाता शाही १५ वर्ष पुगिन् । गत २०७५ सालमा बुवाको मुत्यु भयो । बुबाको मृत्यु भएपछि २०७६ मा आफूलाई जन्म दिएकी आमासमेत अर्कोसँंग विवाह गरेर गइन् ।

सुजाता, उनकी १६ वर्षीया दिदी सिर्जना र १२ वर्षीया बहिनी अस्मिता सहाराविहीन भइन् । तीनै दिदीबहिनी झुपडीमा त्रिपालले छाएर र बाँसले बारेर बस्दै आएका थिए । आर्थिक अवस्था कमजोर भएकाले घर मर्मत गर्नसमेत नसकेको यो परिवारको सारथी मुख्यमन्त्री ग्रामीण विकास कार्यक्रम बनेको छ ।

कार्यक्रममार्फत् तीन दिदीबहिनीको घर निर्माण भएको छ । ब्लकको गाह्रो लगाइएको दुईकोठे घर निर्माण गरिएको हो । कार्यक्रममार्फत ६० हजार रुपैयाँ आर्थिक सहयोगमा घर निर्माण भएको कार्यक्रमका सहजकर्ता हरि भण्डारीले बताए । घर निर्माणमा ठूलीआमा तुल्सी केसीले २० हजार रुपैयाँ सहयोग गरेको सुजाताले बताइन् । पुरानो छाप्रो भत्काएर पाँच दिनमा माहिला काका प्रदीपको सहायतामा घर निर्माण भएको उनी बताउछिन् । ‘पहिले छाप्रोबाट पानी चुहिन्थ्यो, बस्नलाई अप्ठेरो हुन्थ्यो,’ सुजाताले भनिन्, ‘घर निर्माणपछि यो समस्या समाधान भएको छ ।’ घर निर्माणसंँगै शौचालय समेत निर्माणका लागि उनको परिवारले माग गरेको छ ।

मल्लरानी ३ मुन्डाँडाकी काली सार्कीको पनि अवस्था उस्तै हो । आर्थिक अवस्था कमजोर भएकी उनी लामो समयसम्म जीर्ण घरमा बसिन् । नयाँ घर बनाउन नसक्दा वर्षात्मा पानी पर्दा चुहिने समस्या रहेको उनी सुनाउँछिन् । उनको पनि नयाँ घर निर्माणमा कार्यक्रमले सहयोग गरेको हो । गाउँपालिकाको जस्तापाता र मुख्यमन्त्री ग्रामीण विकास कार्यक्रममार्फत् ६० हजार रुपैयाँ आर्थिक सहयोगमा कालीको घर पुनःनिर्माण गरिएको हो । घर निर्माण गरिदिएकामा खुशी हुँदै अब पानी पर्दा पनि ढुक्कसंँग सुत्न पाइने उनले बताइन् ।

गाउँपालिकाका पाँच वडाभित्र आर्थिक अवस्था कमजोर भई असुरक्षित बसोबास गर्दै आएका गरीब तथा विपन्न घरपरिवारका लागि मुख्यमन्त्री कार्यक्रमअन्तर्गत चालू आव २०७६÷०७७ मा नयाँ र मर्मत गरी १९ घर निर्माण गरिएको छ । कार्यक्रममार्फत् १० नयाँ घर निर्माण गरिएको तथा नौ घर मर्मत गरिएको कार्यक्रम सहजकर्ता भण्डारीले बताए । सोका लागि कार्यक्रममार्फत् सात लाख रुपैयाँ विनियोजन गरिएको थियो ।

लामो समयदेखि आर्थिक अवस्थाले गर्दा नयाँ घर निर्माण गर्न नसकेका र घर मर्मतसमेत गर्न नसकेका व्यक्तिको परिवारका लागि सहयोग पुग्ने उद्देश्यले सो कार्यक्रममार्फत् सम्बोधन गरिएको उपाध्यक्ष सरिता जिसीले बताइन् । कार्यक्रममार्फत मल्लरानी गाउँपालिकाभित्र तरकारी खेतीका लागि विभिन्न ठाउँमा टनेल, प्राथमिक स्वास्थ्य केन्द्र खलंगा र धरमपानी स्वास्थ्य चौकी चुजाँठाटीमा स्तनपान कक्ष, वडा २ चुजाँमा सिंचाइ कुलो, वडा नं ५ मा बालविकास केन्द्र निर्माणलगायत काम गरिएको सहजकर्ता भण्डारीले बताए ।

प्रधानमन्त्री रोजगार कार्यक्रम

कोरोना संक्रमणका कारण सरकारले गरेको बन्दाबन्दीकै समयमा जिल्लाका स्थानीय तहले प्रधानमन्त्री रोजगार कार्यक्रम सञ्चालन गरेका छन् । प्युठान नगरपालिका तथा माण्डवी र गौमुखी गाउँपालिकाले यो कार्यक्रम सुरु गरेका छन् भने अन्य स्थानीय तह पनि तयारीमा छन् ।

प्युठान नगरपालिकाले प्रधानमन्त्री रोजगार कार्यक्रमअन्तर्गत ५१० व्यक्तिलाई रोजगारी दिएको रोजगार संयोजक माधव गिरीले बताए । कार्यक्रममार्फत् नगरका १० वटै वडामा १५ निर्माणका काम सञ्चालन भएका छन् । स्थानीय बाटो, सडक, विद्यालय र खानेपानी मर्मतका काम सञ्चालन भएको रोजगार संयोजक गिरीले बताइन् । कार्यक्रम मार्फत नगरपालिकामा ७६ लाख ७८ हजार रुपैयाँ बजेट विनियोजन भएको छ ।

रोजगार कार्यक्रममार्फत् काम गरिरहेका प्युठान– ४ का शिवबहादुर नेपालीले बन्दाबन्दीको समयमा धेरै दिनपछि काम गर्न पाएकामा खुशी व्यक्त गरे । विजुवार मित्रमणिचोकदेखि हल्दीखोला हुँदै भित्रीकोटसम्मको सडककमा नाली निर्माणको काम गरेको उनले बताए । माण्डवी गाउँपालिकाले पनि प्रधानमन्त्री रोजगार कार्यक्रम सञ्चालन गरेको छ । पालिकाका पाँच वटा वडामा नौ वटा योजनाको काम हुने गरी कार्यक्रम सञ्चालन भएको गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत शिशिर रिजालले बताए ।

यस्तै गौमुखी गाउँपालिकाले पनि रोजगार कार्यक्रम सुरु गरेको छ । कार्यक्रममार्फत् वडा नं १ र २ मा योजनाको काम सकिएको तथा अन्य वडामा काम सञ्चालन भइरहेको रोजगार संयोजक निरज पाण्डेले बताए । कार्यक्रममार्फत् गोरेटो बाटो, नाली, पर्खाललगायत काम भएको उनको भनाइ छ ।

त्यस्तै सरुमारानी गाउँपालिकामा पनि कार्यक्रम सञ्चालनका लागि सम्झौता भइसकेको र काम शुरु हुने चरणमा रहेको पालिकाका प्रमुख प्रशासकीय अधिकृत अमरबहादुर घर्तीले बताए । ऐरावती गाउँपालिका पनि रोजगार कार्यक्रम सञ्चालन गर्ने तयारीमा छ । पालिकाले १० लाख रुपैयाँ बजेटबाट ३४ योजना छनोट गरेको रोजगार संयोजक विनोद त्रिपाठीले बताए ।

झिमरुक गाउँपालिकामा पनि सो कार्यक्रमका लागि २५ लाख रुपैयाँ बजेट छ । लकडाउन केही खुकुलो भएमा सञ्चालन गर्ने योजना रहेको पालिकाका अध्यक्ष तिलक जिसीले बताए । मल्लरानी गाउँपालिकाकाले पनि पाँच वटै वडामा पाँच योजनाको काम सुरु गर्ने तयारीमा छ । सडक र विद्यालय भवन निर्माण,नदी नियन्त्रणलगायत काममा सहभागी हुने रोजगार संयोजक अनिल भट्टराईले बताए । उता स्वर्गद्वारी नगरपालिकाले भने योजनाका काम छनोट भई काम सुरु हुने चरणमा रहेको जनाएको छ । नगरमा गोरेटो बाटो र सिंचाइ कुलो निर्माणको काम हुने छ । सोका लागि १९ लाख रुपैयाँ बजेट विनियोजन भएको नगर प्रमुख नेत्रबहादुर रोका क्षेत्रीले बताए । (रासस)

प्रकाशित समय १६:०७ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु