गृहपृष्ठ अपराधजन्य प्रवृत्तिलाई समाजबाट उन्मूलन गर्न नेपाल प्रहरी दृढ छ : आईजीपी ज्ञवाली

अपराधजन्य प्रवृत्तिलाई समाजबाट उन्मूलन गर्न नेपाल प्रहरी दृढ छ : आईजीपी ज्ञवाली

प्रहरी महानिरीक्षक (आईजीपी) ठाकुर प्रसाद ज्ञवालीले समाजमा हुने जुनसुकै अपराधजन्य प्रवृत्ति र कर्मलाई उच्च मनोबल र दृढ इच्छा शक्तिकासाथ समाजबाट उन्मूलन गर्न नेपाल प्रहरी दृढ रहेको बताएका छन् । महानगरीय प्रहरी परिसर ललितपुरमा नवनिर्मित प्रहरी ब्यारेक भवनको बुधबार आयोजित एक कार्यक्रमबीच उदघाटन गर्दै उनले सो कुरा बताएका हुन् ।

भवन उदघाटनपश्चात उनले भवन निर्माणमा विशेष योगदान पुर्‍याउने ७ जनालाई प्रशंसापत्र वितरण गर्नुका साथै नवनिर्मित भवन तथा कार्यालय परिसरको निरीक्षणसमेत गरे । कार्यक्रममा आईजीपी  ज्ञवालीले नागरिकको सुरक्षा र सेवा प्रवाहको लागि नवनिर्मित भवनले कार्यरत प्रहरी कर्मचारीहरुमा थप हौसला प्राप्त भएको उल्लेख गरे । मुलुकको समृद्धि र नागरिकको समुन्नत भविष्यका लागि सबै सरोकारवाला निकायहरु एकतावद्ध हुनुपर्ने उनले विचार व्यक्त गरे ।

आईजीपी ज्ञवालीले मुलुकको शान्ति सुरक्षा र समुन्नतिमा अवरोध गर्ने जुनसुकै तत्व, शक्ति वा समूहको गतिविधिहरुलाई निर्ममतापूर्वक कारवाही गरी निस्तेज गर्न उपस्थित प्रहरी अधिकृतहरुलाई निर्देशनसमेत दिए । कुनै आवरणमा रही हुने गरेका गुण्डागर्दी, मानव बेचबिखन तथा ओसारपसार, प्राकृतिक श्रोत साधनको दोहन, पर्यावरणीय विनाश र अवैध तस्करी जस्ता अपराधिक कर्मविरुद्ध सशक्त रुपमा कारवाही अगाडि बढाउनुपर्ने उनले बताए ।

ऐतिहासिक र पुरातात्विक महत्व रहेको ललितपुर जिल्लाका कला कौशल, संस्कृति र परम्पराको विशिष्ट स्थान रहेको चर्चा गर्दै आईजीपी ज्ञवालीले यस विशिष्ट क्षेत्रको मौलिकता र महत्वलाई सदा जीवन्त राख्न भरपर्दो शान्ति सुरक्षाको ठुलो महत्व रहेको बताए । आम नागरिकको साथ, सहयोग र सहकार्यमा जुनसुकै अपराध कर्मको संजाल छिन्न-भिन्न पार्दै अपराधीलाई कानूनी कारवाहीको दायरामा ल्याउन प्रहरी दृढ रहेको उनले विश्वास दिलाए ।

कानुनको निष्पक्ष, पारदर्शी र न्यायसम्मत तवरबाट कार्यान्वयन हुन सकेमा मात्र कानुनी शासनको प्रत्याभूति सम्भव हुने बताउँदै आईजीपी ज्ञवालीले कानुन र न्यायका आधारमा जिम्मेवारी वहन गर्न नसक्ने कोही पनि व्यक्ति कानुनको रक्षक हुन नसक्ने र त्यस्ता व्यक्ति संगठन र समाजका लागि योग्य पात्र नहुने बताए । आम नागरिकको आशा र भरोसाको केन्द्रको रुपमा रहेको प्रहरी संगठनको पवित्र उद्देश्य नि:स्वार्थ राष्ट्र र नागरिकको सेवा रहेको चर्चा गर्दै उनले यस पवित्र मन्दिरमा बसी छद्म भेषमा कोही-कसैलाई अपवित्र काम, आवरण र व्यवहार गर्न छुट नरहने र त्यस्ता गलत तत्वहरुलाई संगठनबाट निर्मूल पार्न दृढ रहेको बताए ।

कार्यक्रममा ललितपुर महानगरपालिकाका प्रमुख चिरीबाबु महर्जनले शुभकामना मन्तव्य व्यक्त गर्दै महानगर क्षेत्रमा देखिएका चुनौती तथा समस्याहरु समाधानको लागि महानगरपालिकाले प्रहरीसँग सदैव समन्वय र हातेमालो गर्दै आगाडि बढेको बताए । नयाँ भवन हस्तान्तरण भएसँगै आगामी दिनमा त्यसको उचित मर्मत सम्भारमा समेत आवश्यक ध्यानदिनुपर्नेमा उनले जोड दिए ।

इन्स्पेक्टर ई. रोशन सारुले भवन निर्माणसम्बन्धी प्रतिवेदन प्रस्तुत गर्दै राष्ट्रिय पुन:निर्माण प्राधिकरण कोषको सहयोगमा २ हजार १ सय ६० वर्गमिटर क्षेत्रफलमा निर्मित २४ कोठे उक्त भवनकुल ८ करोड ३१ लाख १० हजार ३ सय ९ रुपैयाँ १३ पैसाको लागतमा निर्माण कार्य सम्पन्न भएको जानकारी दिए ।  

प्रकाशित समय १७:२८ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु