गृहपृष्ठ बझाङको मल्लेसी पहिरो : ६ जनाको शव निकालियो, एक जना अझै वेपत्ता
बझाङको मल्लेसी पहिरो : ६ जनाको शव निकालियो, एक जना अझै वेपत्ता
बझाङको केदारस्युँ गाउँपालिका वडा ८ को मल्लेसीमा गएको पहिरोमा पुरिएका ६ जनाको शव निकालिएको छ। एक जना भने अझै वेपत्ता रहेका छन् ।
गाउँपालिका उपाध्यक्ष निशा धामीका अनुसार एकै घरका ४३ वर्षीया रामतीदेवी जेठारा, १६ वर्षीया शान्तिकुमारी जेठारा, १३ वर्षीय बालक प्रयाग जेठारा र ७ वर्षीया बालिका अस्मिता जेठाराको शव भेटिएको छ । त्यस्तै, १५ वर्षीया बालिका सन्तु जेठारा र ८१ वर्षीय दले जेठाराको पनि शव भेटिएको हो । २० वर्षीय गिरी जेठारा भने अझै बेपत्ता भएको उनले जानकारी दिइन् ।
गएराति वर्षासँगै गाउँ माथिबाट आएको पहिरोले केदारस्युँ गाउँपालिका–८ को मल्लेसीका २० घर बगाएको उनले बताइन् । राति पहिरो आएको थाहा पाएपछि घरभित्र रहेका अन्यले भागेर ज्यान जोगाए पनि ७ जना भने पहिरोमा पुरिएका थिए ।
स्थानीयका २२ वटा भैँसी, ६५ वटा बाख्रा र २४ वटा गाइगोरु पनि पहिरोले बगाएको छ । ६५ घर परिवार बस्दै आएको बस्तीको बीच भागबाट पहिरो गएपछि गाउँ नै जोखिममा परेको छ । स्थानीयले भोगचलन र अन्न उब्जाउ गर्दै आएको करिब आधा जमिन पहिरोले बगाएको स्थानीयले बताएका छन् । पहिरोले घरबारविहीन भएका व्यक्तिहरूले हिजो राति स्थानीय विद्यालयमा ओत लागे पनि अब कहाँ बस्ने भन्ने चिन्ता भएको बताएका छन् ।
यसैबीच पहिरो पीडितका लागि गृह मन्त्रालयसँगको समन्वयमा खाद्यान्न तथा लत्ताकपडासहित हेलिकोप्टर जाँदैछ । प्रमुख जिल्ला अधिकारी कमलराज भण्डारीका अनुसार संघ र प्रदेश सरकारले राहत पठाउन लागेको जानकारी पाएको बताए । तर, घटनास्थलमै हेलिकोप्टर ल्यान्ड गर्न नसक्ने भएकाले जिल्लास्थित सेनाको ब्यारेकमा सामान झारेर गाडीबाट लैजाने तयारी भएको बताइएको छ ।
प्रकाशित समय १८:५२ बजे

















