गृहपृष्ठ जिल्ला अदालतमा विचाराधीन पीडितको क्षतिपूर्ति मुद्दा रोक्न युएस बंगलाको रिट

जिल्ला अदालतमा विचाराधीन पीडितको क्षतिपूर्ति मुद्दा रोक्न युएस बंगलाको रिट

जिल्ला अदालतमा विचाराधीन पीडितको क्षतिपूर्ति मुद्दा रोक्न युएस बंगलाको रिट दायर भएको छ ।

सन् २०१८ मार्च १२ तारिखका दिन काठमाडौंको त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा युएस बंगला एयरलाइन्सको विमान दुर्घटनामा मृत्यु भएका नेपाली विद्यार्थीहरुको आमाबाबुलाई क्षतिपूर्ति माग्न नेपालमा मुद्दा गर्ने अधिकारक्षेत्र समेत नभएको भन्दै बन्दाबन्दीको अवधिमै उक्त कम्पनी सर्वोच्च अदालत गएको थियो ।

युएस बंगला एयरलाइनस् र सोको चालकको हेलचेक्रयाइँ र चरम लापरवाहीबाट दुर्घटना भई उक्त विमानमा सवार नेपाली नागरिकहरुको मृत्यु भएको सम्बन्धमा सात जना पीडितको आमाबाबुले दायर गरेको क्षतिपूर्तिसम्बन्धी मुद्दाको न्याय निरुपण गर्न नेपालमै अधिकारक्षेत्र कायम हुने भनी काठमाडौं जिल्ला अदालतले २०७६ मंसिर १९ गते गरेको आदेश उच्च अदालत पाटनले गत २०७६ फाल्गुन २३ गते सदर गरेको थियो ।

उच्च अदालत पाटन र जिल्ला अदालत काठमाडौंबाट भएका आदेशहरु उपर कानुन बमोजिम कतै मुद्दा नलाग्ने भए पनि विमान सञ्चालक कम्पनी एवं उसका बीमा र पूनर्बीमा कम्पनीले जिल्ला अदालतमा विचाराधीन मुद्दाको सबै कामकारवाही समेत रोक्न अन्तरिम आदेश माग गरेर दायर गरेको रिट निवेदनमा भोलि मिति २०७७ असार २१ गते सर्वोच्च अदालतमा दुवै पक्षको बहस छलफल हुने भएको छ ।

कोरोना भाइरसको महामारी र बन्दाबन्दीकै अवधिमा गत २०७७ असार १० गते सर्वोच्च अदालतका न्यायाधीश हरिकृष्ण कार्कीको एकल इजलासले उक्त रिट निवेदनमा अन्तरिम आदेशको छलफल गर्न दुवै पक्षलाई राखी बहस गराउने गरी असार २१ गतेको पेशी तोक्ने गरी आदेश भएको छ ।

प्रकाशित समय १९:२१ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु