गृहपृष्ठ विश्वभर ५७ प्रतिशत मानिस कोरोनामुक्त, नेपालमा ४२ प्रतिशतले जिते कोरोना, मृत्युदर ०.२ प्रतिशत

विश्वभर ५७ प्रतिशत मानिस कोरोनामुक्त, नेपालमा ४२ प्रतिशतले जिते कोरोना, मृत्युदर ०.२ प्रतिशत

विश्वभर नोवेल कोरोनाभाइरस (कोभिड १९) संक्रमित ५७ प्रतिशत मानिस ठिक भएका छन् । मंगलबार बिहानसम्ममा १ करोड १७ लाख ३९ हजार १६७ मानिसमा कोरोना संक्रमण फेला परेकोमा ६६ लाख ४१ हजार ८६४ जना निको भएर घर फर्किएका हुन् । यो कुल संक्रमितको ५६.५८ प्रतिशत हो ।

चैत १६ गतेसम्म कुल कोरोना संक्रमितमध्ये २१.३७ प्रतिशतमात्र निको भइरहेकोमा असार २३ सम्म आइपुग्दा निको हुने दर ५४.३९ प्रतिशतमा आइपुगेको हो ।

कोभिड १९ संक्रमितको मृत्युदर पनि घट्दै गएको छ । मंगलबार बिहानसम्ममा विश्वभर संक्रमित भएकामध्ये पाँच लाख ४० हजार ६६० मानिसको मृत्यु भएको छ । यो कुल संक्रमितको ४.६१ प्रतिशत हो । मध्य वैशाखमा कोरोनाबाट मृत्यु हुने दर करिब ७ प्रतिशत थियो ।

बितेका २४ घण्टामा एक लाख ७१ हजार ५०८ संक्रमित थपिएका छन् । अमेरिकामा ५० हजार, भारतमा २२ हजार र ब्राजिलमा २१ हजार संक्रमित थपिएका हुन् । यससँगै अमेरिकामा कुल संक्रमित संख्या ३० लाख ४० हजार, ब्राजिलमा १६ लाख २६ हजार र भारतमा ७ लाख २० हजार नाघेको छ ।

अमेरिकमा ४३.५७ प्रतिशत मानिस कोरोनाभाइरसमुक्त भएका छन् । त्यस्तै ब्राजिलमा ६०.१८, भारतमा ६१.१ र रुसमा ६६.०४ प्रतिशत मानिस कोरोनामुक्त भएका छन् । त्यस्तै अमेरिकामा मृत्युदर ४.३७ प्रतिशत छ । ब्राजिलमा ४.०३, भारतमा २.८ र रुसमा १.५ प्रतिशत मृत्युदर छ । पुस १५ गते चीनको वुहानमा पहिलत्रपटक फेला परेको कोभिड १९ विश्वका सबै देश र भूगोलमा फैलिसकेको छ भने कतिपय देश कोरोनामुक्त पनि भइसकेका छन् ।

नेपालमा के छ ?

नेपालमा कोभिड १९ परीक्षण निकै सुस्त छ । सरकारले परीक्षणको दायरा बढाउन नसक्दा कोरोना संक्रमित कति छन् भन्ने यकिन तथ्यांक थाहा हुन सकेको छैन । जनस्वास्थ्यभन्दा कुर्सीको राजनीतिमा रमाइरहेको सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी नेकपाको गैरजिम्मेवार शैलीप्रति सर्वत्र आलोचना भइरहेको छ । स्वयं प्रधानमन्त्री केपी शर्मा ओलीका अभिव्यक्तिबाट पनि कोरोना संक्रमणलाई सरकारले सामान्य रूपमा लिएको प्रतित हुन्छ ।

तथापि, स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जारी गरेको तथ्यांकअनुसार सोमबारसम्म नेपालमा १५ हजार ९६४ संक्रमित फेला परेका छन् भने ६ हजार ८१८ जना निको भइसकेका छन् । यो कुल संक्रमितको ४२.७१ प्रतिशत हो । सोमबार १८० संक्रमित थपिएका छन् ।

त्यस्तै नेपालमा हालसम्म कोरोना संक्रमणबाट ३५ जनाको ज्यान गइसकेको छ । यो संख्या पनि कुल संक्रमितको ०.२२ प्रतिशतमात्र हो ।

स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमका अनुसार हालसम्म देशभर दुई लाख ५५ हजार ७२८ मानिसको पिसिआर परीक्षण गरिएको छ । तीमध्ये २ लाख ३९ हजार ७६४ जनामा कोरोना संक्रमण भेटिएन । हाल देशभर २९ हजार २१५ मानिस क्वारेन्टिनमा छन् भने आइसोलेसनमा ९ हजार ११८ जना छन् ।

प्रकाशित समय ०८:०१ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु