गृहपृष्ठ सिन्धुपाल्चोकमा पहिरोको वितण्डा : के छ जम्बुबासीको अवस्था ?

सिन्धुपाल्चोकमा पहिरोको वितण्डा : के छ जम्बुबासीको अवस्था ?

दिनभर पानी परिरहेको थियो । स्थानीय बासिन्दा नियमित दिनचर्यामा थिए । गाउँनजिकै एउटा सानो खोलामा पानीको बहाब बढिरहेको थियो । गाउँघरनजिकै सडक पनि खनिएको थिएन । न कतै सानोतिनो पहिरो नै ।

घटना सिन्धुपाल्चोकको बाह्रबिसे नगरपालिका ५ जम्बुको हो । गएराति एक्कासि गएको पहिरोले ठूलो संख्यामा जनधनको क्षति भयो । बुधबार दिनभर आफ्नो काम सकेपछि सबै खाना खाएर सुतिरहेका बेलामा राति १२ बजेतिर पहिरो जाँदा दुई जनाको ज्यान गएको छ भने २० जना बेपत्ता छन् ।

बाह्रविसे नगरपालिका प्रमुख निमफुन्जे शेर्पाका अनुसार एक्कासि गएको पहिरोले २१ घरमा पूर्ण क्षति पुगेको भने पक्की पुलसहित चौपायामा ठूलो संख्यामा क्षति भएको छ । ‘अहिले जम्बु बजार नै खाली गरिएको छ । त्यहाँका बासिन्दालाई खुला ठाउँमा सारेका छौं,’ उनले भने ।

मृतकको सनाखत, बेपत्ताको पहिचान

पहिरोमा परी ज्यान गुमाउने दुई जनाको सनाखत भएको छ भने बेपत्ताहरुको पहिचान भएको छ । ज्यान गुमाउनेमा एकै परिवारका दुई बुबाछोरी २५ वर्षीय निकेश बस्नेत र उनकी ३ वर्षीया छोरीको शव फेला परेको जिल्ला प्रहरी कार्यालय सिन्धुपाल्चोकले जनाएको छ ।

पहिरोमा बेपत्ता हुनेहरुका बाह्रबिसेका भीमबहादुर वाइबा, चिनिमाया वाइबा, लीलामाया वाइबा, पासाङ डोल्मा वाइबा, निमा डोल्मा वाइबा, लक्ष्मण वाइबा, सुनमाया वाइबा, जनकबहादुर वाइबा र सविना तामाङ छन् । यस्तै, हिमेश शर्मा, आकाश तामाङ, आकाश केसी, तोकबहादुर तामाङ, युक्तकुमार तामाङ, सुवेश तामाङ र सलिना तामाङ पनि पहिरोमा हराइरहेका छन् । भोटेकोसी गाउँपालिका बुर्कुटेका निमादोर्जे तामाङ, मञ्जु तामाङ, पासाङ नोर्बु तामाङ र सहिल तामाङसमेत पहिरोमा बेपत्ता भएको प्रहरीले जनाएको छ ।

कति क्षति भयो ?

अत्यधिक वर्षापछि आएको बाढीले २१ घरमा पूर्ण क्षति पुगेको छ । गाईबस्तुको संख्या यकिन भएको छैन, १०७ वटा बंगुर र ६ वटा सवारी साधनमा पनि बाढीले पूर्ण क्षति पुर्‍याएको नगर प्रमुख शेर्पाले बताए । त्यस्तै चार जना पहिरोमा परी गम्भीर घाइते भएका छन् ।

गम्भीर घाइते भएका चार जनालाई उपचारका लागि हेलिकप्टरमार्फत काठमाडौं ल्याइएको छ । बाढीले नगरपालिकाको ५ नं. वडा र बुलुकुटे ठाडो खोलाले भोटेकोशी गाउँपालिका ५ मा बढी क्षति पुगेको छ । नगर प्रमुख शेर्पाका अनुसार खागदल भन्ने ठाउँमा अरनिको राजमार्गमा रहेको पक्की पुल खागदल खोलाले १५ मिटर कटान गरेको छ । त्यहाँ १०-११ वटा घर, एउटा ग्यारेज, एउटा गाडी, एउटा ट्यांकर, सडक विभागको अलकत्रा बोक्ने एउटा ट्रक र बस बगाएको छ ।

सडक विभाग र इन्जिनियरको लापर्बाहीका कारण बाढीले पुल भत्काएको नगर प्रमुख शेर्पाको आरोप छ । ‘जम्बुमा पहिरो आए पनि पुलमा खासै क्षति नहुनुपर्ने थियो, कमसल पुल भएका कारण पुल नै बगाएको हो । यसमा इन्जिनियर र सडक विभागको ठूलो कमजोरी देखिन्छ,’ उनले भने ।

जम्बुबासीको अवस्था

अहिले जम्बुबासीलाई नजिकैको सामुदायिक भवन तथा विद्यालयमा राखिएको छ । जम्बुमा जतिबेला पनि पहिरो जानसक्ने देखिएपछि उनीहरुलाई अन्यत्र सारिएको हो । घटना सुन्नेबित्तिकै सभामुख अग्निप्रसाद सापकोटा घटनास्थल पुगेर निरीक्षण गरेका थिए । उनकै निर्देशनमा तत्कालै घाइतेलाई हेलिकप्टरमार्फत उपचारका लागि काठमाडौं ल्याइएको थियो ।

सभामुखसँगै बागमती प्रदेशका डिआईजी वसन्तकुमार लामा र प्रदेश मन्त्रीहरुले पनि निरीक्षण गरेका थिए । जम्बुबासीलाई अर्को ठाउँमा सारेर उनीहरुलाई राहत सामग्री सबै निकायले सहयोग गरिरहेको नगर प्रमुख शेर्पाले जानकारी दिए । उनका अनुसार अहिले जम्बु क्षेत्रमात्र नभई अन्य विभिन्न ठाउँमा पनि स-साना पहिरो गएका छन् ।

प्रकाशित समय १७:५४ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु