गृहपृष्ठ ८ प्रहरीको हत्यामा संलग्न विकाश दुबे : इन्काउन्टरको डरले मन्दिरमा आत्मसमर्पण !
८ प्रहरीको हत्यामा संलग्न विकाश दुबे : इन्काउन्टरको डरले मन्दिरमा आत्मसमर्पण !
भारतको कानपुरमा आठ प्रहरीको हत्याका मुख्य अभियुक्त कुख्यात गुण्डा नाइके विकाश दुबे मध्य प्रदेशको उज्जैनबाट पक्राउ परेका छन् । प्रहरीको सर्वाधिक खोजीमा रहेका दुबे उज्जैनको महाकाल मन्दिर पुगेको सूचना पाएपछि प्रहरीले उनलाई त्यहीबाट बिहीबार बिहान पक्राउ गरेको हो ।
भारतीय समाचार माध्यम दैनिक भास्करका अनुसार महाकाल मन्दिरको सुरक्षा समूहले उनलाई संदिग्ध ठानेर पक्राउ गरेको थियो । त्यसपछि महाकाल थानाले प्रहरीलाई सूचना दिए । यद्यपि, विकास महाकाल मन्दिर परिसरमा पुगेर ‘म विकास दुबे हुँ’ भन्दै चिच्याएको बताइएको छ ।
६ दिनअघि उनलाई पक्राउ गर्न प्रहरी टोली कानपुरको बिकरू गाउँस्थित उनको घर पुगेको थियो । प्रहरी टोलीमाथि दुबेको समूहले गोली प्रहार गर्दा डीएसपीसहित ८ प्रहरी मारिएका थिए ।
प्रहरीले उनीमाथि पाँच लाख भारु इनामसमेत तोकेको थियो । उत्तर प्रदेश प्रहरीको समूहले उनलाई पछिल्लो ६ दिनदेखि खोजिरहेको थियो । खोजीको क्रममा दुबे समूहका पाँच जना प्रहरी इन्काउन्टरमा मारिएका थिए । उनी पनि प्रहरीले इन्काउन्टर गर्ने डरले मन्दिर पुगेर आत्मसमर्पण गरेको हुनसक्ने भारतीय सञ्चारमाध्यमहरूले उल्लेख गरेका छन् ।

६० भन्दा बढी आपराधिक घटनामा मुछिएका पण्डित राजनीतिक दबाबमा संरक्षण पाइरहेका थिए । उनीविरुद्ध सन् १९९० मा हत्याको आरोपमा मुद्धा दर्ता भएको थियो । त्यतिबेला कानपुरको खुंखार डनले परिचित पण्डित केही वर्षमै राजनीतिमा प्रवेश गरेका थिए ।
प्रकाशित समय १७:५५ बजे

















