गृहपृष्ठ कनकाई नदीमा पानीको बहाव बढ्यो, चार घर विस्थापित

कनकाई नदीमा पानीको बहाव बढ्यो, चार घर विस्थापित

kankai-newskarobar

केही दिनयता भइरहेको लगातार वर्षाका कारण झापाको कनकाई नदीमा पानीको बहाव बढेको छ । कनकाई नदीमा जलस्तर खतरा आसपास पुगेकाले शनिबार शिवसताक्षी नगरपालिका १० मा चार घर विस्थापित भएको नेपाल रेडक्रस सोसाइटी झापाले जनाएको छ ।

‘कनकाईको बाढीबाट विस्थापित चार परिवारलाई अन्यत्र सुरक्षित स्थानमा सारिएको र उनीहरुको बसोबासका लागि सोसाइटीले त्रिपाल प्रदान गरेको छ,’ सोसाइटीका आपतकालीन कार्य सञ्चालन केन्द्रका फोकल पर्सन हरिशरण खड्काले भने, ‘कनकाई नदीमा आज पानीको बहाव ३.१ मिटर मापन गरिएको छ ।’ यसलाई बाढीको जोखिमउन्मुख अवस्था मानिन्छ ।

पानीको बहाव ३.१ मिटर पुगेपछि कनकाई नदी बग्ने तराई क्षेत्रका सबै नगरपालिका र गाउँपालिकाका वरपरका बासिन्दालाई मोबाइलको म्यासेज र साइरनमार्फत सतर्क गराउने व्यवस्था छ ।

इलाम र पाँचथर जिल्लामा धेरै वर्षा हुँदा झापामा बाढीको त्रास हुन्छ । इलामको कन्याममा आज ५६ मिलिमिटर, सोक्तिममा ५१, चन्द्रगढीमा ५९.६ र दोमुखामा ७६.६ मिलिमिटर वर्षा भएको नेपाल रेडक्रस सोसाइटी आपतकालीन कार्य सञ्चालन केन्द्रले जनाएको छ ।

झापा र इलाममा विगत २४ घण्टादेखि लगातार वर्षा भइरहेको छ । नेपाल रेडक्रस सोसाइटी झापाले जिल्लाका १५ वटै स्थानीय तहमा रहेको आफ्ना उपशाखालाई नदी तटीय क्षेत्रका समुदायलाई सतर्क गराउन भन्दै ‘अलर्ट म्यासेज’ सम्प्रेषण गरेको छ । नदी तटीय क्षेत्रमा बसोबास र खेती गर्नेहरुलाई सतर्क रहन र खोला नतर्न आग्रह गरिएको हो ।

प्रकाशित समय १९:५३ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु