गृहपृष्ठ अछामका कोरोना प्रभावितलाई ७४ लाखबराबरको सहयोग सामग्री वितरण

अछामका कोरोना प्रभावितलाई ७४ लाखबराबरको सहयोग सामग्री वितरण

आस्था नेपाल र वर्ल्डभिजन इन्टरनेशलन नेपालद्वारा सञ्चालित कोभर परियोजनाले कोरोना प्रभावित नागरिकलाई ७४ लाख रुपैयाँबराबरको राहत सामग्री वितरण गरेको छ । संस्थाले अछाम जिल्लाका विभिन्न स्थानीय तहमा असार ८ गतेदेखी २९ गतेसम्म सो मूल्य बराबरको सहयोग सामग्री वितरण गरेको हो ।

आस्था नेपालका परियोजना अधिकृत प्रयागराज कापडीका अनुसार सरकारको संकट व्यवस्थापन मापदण्डअनुसार अछामका पञ्चदेवल विनायक नगरपालिका र कमल बजार नगरपालिकाका १० वटा वडाका २६५ परिवारहरुलाई करिब ९ लाख रुपैयाँबराबरको खाद्यान्न सामग्री वितरण गरिएको छ । त्यस्तै ५ हजार २०० बालबालिकालाई करिब ४५ लाखबराबरका सरसफाइ सामग्री वितरण गरिएको उनले बताए ।

आस्था नेपालले ११ सय १ देखि ३ कक्षासम्म पढ्ने बालबालिकाहरुलाई शैक्षिक सामग्री वितरण गरेको हो । त्यस्तै १ हजार ५०० भन्दा बढी किशोरीलाई सेनिटरी प्याड प्रदान गरिएको कापडीले जानकारी दिए । परियोजनाले पालिकामा रहेका क्वारेन्टिनमा खाद्यान्न तथा सरसफाइका सामग्री वितरण गर्नुका साथै चारवटा क्वारेन्टिन रहेका स्थानमा हात धुने व्यवस्थाका लागि आधुनिक कर्नर निर्माण गरेको छ ।

कोरोना महामारीमा स्थानीय सरकारहरुलाई सहयोग गर्न यसअघि पहिलो चरणमा अछामकै चारवटा पालिकाहरुमा स्वास्थ्य सामग्री, क्वारेन्टिन व्यवस्थापनका सामग्री वितरण गरिसकेको छ ।

प्रकाशित समय ०७:४१ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु