गृहपृष्ठ कोरोनाबाट मृत्युदर घट्दै, निको हुने दर बढ्दै
कोरोनाबाट मृत्युदर घट्दै, निको हुने दर बढ्दै
विश्वभर कोरोनाभाइरस संक्रमित निको हुने दर बढ्दै गएको छ । एक साताअघि (असार २३) कुल संक्रमितको ५४.३९ प्रतिशत निको भएकोमा आज (मंगलबार) निको हुने दर ५८.१५ प्रतिशतमा उक्लिएको छ । चैत १६ गतेसम्म कुल कोरोना संक्रमितमध्ये २१.३७ प्रतिशतमात्र निको भइरहेका थिए ।
संख्यात्मक आधारमा मंगलबार बिहानसम्म विश्वभर १ करोड ३२ लाख ३५ हजार ७५१ मानिस संक्रमित भएकोमा ७६ लाख ९६ हजार ३८१ जना सफल उपचारपछि घर फर्किएका छन् ।
कोभिड १९ संक्रमणबाट मृत्युदर पनि घट्दै गएको छ । मंगलबार बिहानसम्ममा विश्वभर संक्रमित भएकामध्ये पाँच लाख ५७ हजार ५२५ मानिसको मृत्यु भएको छ । यो कुल संक्रमितको ४.३४ प्रतिशत हो । मध्य वैशाखमा कोरोनाबाट मृत्यु हुने दर करिब ७ प्रतिशत थियो भने एक साताअघि मात्रै पनि ४.६१ प्रतिशत थियो ।
बितेका २४ घण्टामा विश्वभर थप १ लाख ९५ हजार ८७८ मानिस संक्रमित भएका छन् भने ३ हजार ७३१ जनाको मृत्यु भएको छ । अमेरिकामा संक्रमितको संख्या ३४ लाख ७९ हजार नाघेको छ भने हालसम्ममा १ लाख ३८ हजार २४७ जनाको ज्यान गइसकेको छ ।
ब्राजिलमा १८ लाख ८७ हजार, भारतमा ९ लाख ७ हजार, रुसमा ७ लाख ३३ हजार र पेरुमा ३ लाख ३० हजारभन्दा बढी मानिस संक्रमित भएका छन् । मृत्यु हुनेमा अमेरिकापछि ब्राजिलमा ७२ हजार ९२१, बेलायतमा ४४ हजार ८३०, मेक्सिको ३५ हजार ४९१, इटाली ३४ हजार ९६७, फ्रान्स ३० हजार ३९, स्पेट ३८ हजार ४०६ र भारत २३ हजार ७२७ छन् ।
नेपालको के छ ?
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको सोमबारसम्मको तथ्यांकअनुसार नेपालमा कोरोना संक्रमितको संख्या १६ हजार ९४५ पुगेको छ भने ३८ जनाले ज्यान गुमाएका छन् । यो कुल संक्रमितको ०.२२ प्रतिशत हो । त्यस्तै निको हुनेको संख्या १० हजार २९४ पुगेको छ । यो कुल संक्रमितको ६०.४८ प्रतिशत हो । चैत २३ सम्ममा निको भएर घर फर्किने दर ४२.७१ प्रतिशत थियो । यद्यपि विज्ञहरूले भने सरकारले पर्याप्त परीक्षण नगराएको र तथ्यांक लुकाएको अनुमान गरिरहेका छन् ।
यो पनि पढ्नुहोस्
विश्वभर ५७ प्रतिशत मानिस कोरोनामुक्त, नेपालमा ४२ प्रतिशतले जिते कोरोना, मृत्युदर ०.२ प्रतिशत
प्रकाशित समय ०८:१५ बजे

















