गृहपृष्ठ सप्तरीको तिलाठी डुबानमा, जोखिममा बेल्हीगाउँ
सप्तरीको तिलाठी डुबानमा, जोखिममा बेल्हीगाउँ
खोला नियन्त्रणका लागि आउने बजेटमा कि भ्रष्टाचार हुन्छ कि त्यसै फर्किन्छ
भारतीय सीमासँग जोडिएको सप्तरीको तिलाठी गाउँ हरेक वर्षझैँ यो वर्ष पनि डुबानमा परेको छ । खाँडोखोलामा आएको बाढीले सप्तरीको तिलाठी कोइलाडी गाउँपालिका १ तिलाठीको बेल्ही टोल सोमबार जलमग्न भएको छ । बेल्ही टोलका करिब ५० भन्दा बढी घर डुबानमा परेको गाउँपालिकाले जनाएको छ ।
लगातारको वर्षाले बेल्हीलाई डुबाएको स्थानीय उपेन्द्र यादवले बताए । पानीले बेल्ही भन्सार र बजारसमेत डुबानमा परेको छ । सो ठाउँमा रहेको भन्सार कार्यालय, सशस्त्र तथा नेपाल प्रहरीको चौकीसमेत डुबानमा परेका छन् । राजविराज–तिलाठी सडकखण्डलाई दुई ठाउँमा बाढीले क्षति पु-याएको छ ।
भन्सार बजारका पसल डुबानमा पर्दा स्थानीय व्यापारीलाई लाखौँ मूल्य क्षति भएको छ । खाँडोखोलाको बाढीसँगै करिब आठदेखि १० वटा शवसमेत बगेर आएको लौनियाका प्रत्यक्षदर्शी गजेन्द्र मण्डलले बताए । शव आएको बेला अत्यन्तै दुर्गन्ध फैलिने गरेको मण्डलले जानकारी दिए । बाढीले सयौँ बिघामा लगाइएको धानबालीसमेत डुबानमा परेको छ ।
खाँडोखोलाको बाढीले पार्ने डुबान समस्याकै कारण वर्षौँदेखि तिलाठी र बेल्हीगाउँका कयौँ परिवारको जीवन कष्टकर हुने गरेको छ । पानीको निकास हुन नसक्दा घरघरमा पानी पसेको छ । बर्सेनि करोडौँ रकम खर्च हुँदै आए पनि तिलाठी र बेल्हीको आन्तरिक विवाद तथा भारतको अवरोधका कारण तिलाठी र बेल्ही डुबानबाट बच्न सकेको छैन ।
बाढीको वितण्डाले तिलाठीसँगै लौनिया, सकरपुरा, रम्पुरा मल्हनियालगायत गाउँ सधैँ जोखिममा रहने गरेको छ । चुरेबाट निस्केको खाँडो नदीले नेपाली भूभागमा तिलाठीसम्म २५ किलोमिटरको यात्रा तय गर्छ । खासगरी पूर्वपश्चिम राजमार्गदेखि दक्षिणको खाँडो नदीसित टाँसिएका गाउँहरु हरेक वर्ष बाढीको चपेटामा पर्छन् । सबभन्दा बढी निशानामा पर्ने गाउँ भने तिलाठी र बेल्ही नै हो ।
जोखिममा बेल्हीगाउँ
केही दिनयता लगातार परेको भारी वर्षापछि बलानखोलामा आएको बाढीले सप्तरीको बलानबिहुल गाउँपालिका ४ को बेल्ही बस्ती जोखिममा परेको छ । चुरे मूल भएको बलान नदीमा आएको बाढीले खेतजग्गा धमाधम कटान गर्न थालेपछि बेल्हीगाउँ जोखिममा परेको हो ।
लगातारको वर्षाले खोलामा पानीको बहाव बढिरहेकाले स्थानीयबासीमा त्रास पनि बढेको बेल्हीका अनवारुल मियाँले बताए । खोला कटानले मदन मियाँ, मुस्तफा मियाँ, सदानन्द पाठकलगायतको खेत बगाएको छ भने अरुहरुको खेतजग्गा जोखिममा छ ।
बलान खोलामा आएको बाढीले बर्सेनि ५०/६० बिघा खेत कटान गर्ने गरेको छ । १२–१३ वर्षको अवधिमा ७०० बिघाभन्दा बढी जमिन कटान गरिसकेको वडाध्यक्ष हन्सु मियाँ बताउँछन् । धार परिवर्तन गरी गाउँतर्फ फर्किएको बलान खोलालाई तत्काल नियन्त्रण गर्न नसके गाउँ बगरमा परिणत हुने भन्दै स्थानीय उमेश यादवले आक्रोश व्यक्त गरे । बलानखोलाले यादवको घर र इनार लगेपछि अन्यत्र सरेका छन् । खोलाकै कारण साविकको बेल्ही गाविस १ का ५०–६० घर बसाइँ सरेको यादवले बताए ।
खोलाले एकातिर बालुवा थुपार्ने र अर्कोतिर कटान गर्दै सर्पझै बाङ्गोटिङ्गो गरेर खेत जग्गा कटान गरी बर्बाद गरिरहे पनि स्थानीय सरकार मौन रहेको इन्जिनियर नवीनकुमार झाले बताए । झाले वर्षौँदेखि कटान भइरहेको खेतजग्गा जोगाउन ध्यान नपुगेकाले सिरहा र सप्तरी जिल्ला छुट्याउने सप्तरीको पश्चिम–दक्षिणवर्ती गाउँ बेल्हीको अस्तित्व नाम मात्रैमा सीमित रहने बताए । चुरे जंगलको विनाशपछि बलान नदीले फेर्दै आएको धार तथा भारतले सीमानाका लौकाहामा बनाएको ठूलो बाँधका कारण पानी थुनिएर बेल्हीगाउँ डुबान र कटानमा पर्ने गरेको गाउँलेहरुको भनाइ छ ।
वरदानका रूपमा रहेको बलानखोलाले धार परिवर्तन गरी पूर्वतर्फ फर्किएपछि विगतमा धान र गहुँको बाला झुल्ने खेतका गरा बगरमा परिणत हुँदै गएका छन् । धनी किसान र जमिन्दारको गाउँ भनेर चिनिने बेल्ही अहिले खाद्य संकटको चपेटामा छ । बालुवाले खेत पुर्दै मरुभूमि बनाउँदै लगेपछि गाउँलेहरु रित्तो बन्दै गएका छन् ।
‘वर्षाको आरम्भमै १२–१३ बिघा जमिन कटान गरिसकेको छ,’ स्थानीय काशिन्द्र गामी साहले भने, ‘पहाडतिरसमेत ठूलो वर्षा भएपछि यो वर्ष पनि दर्जनौँ व्यक्ति सुकुम्बासी हुने स्थितिमा पुग्नेछन् ।’ स्थानीय सरकारको पहिलो ध्यान बलानखोला नियन्त्रणमा जानुपर्नेमा कुनै प्रयास नभएको साहले बताए । उपभोक्ता समिति बनाएर अनावश्यक खर्च गरिरहेको स्थानीय तहले तीन वर्षदेखि बलानखोला नियन्त्रणमा कुनै लगानी नगरेको उनले बताए ।
बलानखोलाबाट पीडित उमेश भन्छन्, ‘खोला नियन्त्रणका लागि बजेट विनियोजित हुन्छ र पनि काम हुँदैन, पैसा फर्केर जान्छ नभए भ्रष्टाचार हुन्छ ।’ प्रत्येक साल झन्डै ५० बिघा जमिन खोलाले निलिरहेको उनले गुनासो गरे । ‘प्रत्येक वर्ष आउने बाढीले पु–याएको क्षति हेर्न स्थानीय प्रशासनदेखि मन्त्री, सांसदले भ्रमण गर्छन्, ठूला आश्वासन बाँडछन् तर वर्षा सकिएपछि सबैले बिर्सन्छन् ।’ बलानबिहुल गाउँपालिका निवासी प्रधानाध्यापक दिनेश्वर यादवले भने, ‘गाउँ क्रमशः बगर बन्दैछ तर गाउँ जोगाउने कोही देखिएन ।’ (रासस)
प्रकाशित समय ०८:५३ बजे

















