गृहपृष्ठ भारी वर्षाको सम्भावना, सचेत रहन मौसम विभागको आग्रह
भारी वर्षाको सम्भावना, सचेत रहन मौसम विभागको आग्रह
सांकेतिक तस्बिर ।
देशका विभिन्न भूभागमा केही दिन भारी वर्षाको सम्भावना रहेको भन्दै जल तथा मौसम विज्ञान विभागले सर्तक रहन आग्रह गरेको छ । साउन ४ देखि ७ गतेसम्म भारी वर्षा तथा एक दुई स्थानमा अति भारी वर्षा भई पहिरोको समेत जोखिम रहेको भन्दै विभागले विज्ञप्तिमार्फत सचेत गराएको हो ।
विभागका प्रवक्ता डा. अर्चना श्रेष्ठका अनुसार भारी वर्षाका कारण प्रदेश १, २ तथा बागमती प्रदेश र गण्डकी प्रदेशका क्रमशः कनकाई, तमोर, सुनकोशी, सप्तकोसी, कमला, बूढीगण्डकी, सेतीगण्डकी, मस्र्याङ्दी, कालीगण्डकी तथा तिनका सहायक नदीहरुको जलसतह उल्लेख्य बढ्ने सम्भावना छ । प्रदेश ५ को तिनाउ, पश्चिम राप्ती तथा बबई नदी र सहायक नदी, कर्णाली प्रदेशको भेरी, पश्चिम सेती नदी र सहायक नदीहरुमा पानीको बहाव बढ्ने विभागको अनुमान छ ।
प्रदेश ५ र सुदूरपश्चिम प्रदेशका मध्य पहाडी, चुरे र तराईबाट बहने ससाना नदीनालामा आकस्मिक बहाव बढ्ने सम्भावना देखिएकाले सावधानी अपनाउन विभागले अनुरोध गरेको छ ।
प्रकाशित समय १८:२२ बजे

















